
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसद्मा उठाउँदै आएको माग सम्बोधन गर्दै सहकारी ठगीमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् ।
समितिको सभापति सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापालाई तोकिएको छ ।
समितिमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेको तर्फबाट थापा र सरिता भुसाल सदस्य छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राप्रपाका ध्रुबबहादुर प्रधान र रास्वपाका शिशिर खनाल छन् ।
समितिलाई तीन महिनाको समय तोकिएको सभामुख घिमिरेले संसद् बैठकमा जानकारी गराए ।
समितिले विभिन्न २९ वटा सहकारीको बारेमा छानबिन गर्नेछ ।
समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमबारे छानबिन गर्ने उल्लेख छ ।
कांग्रेसले रवि लामिछानेको नामै किटेर छानबिन समिति गठनको प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि गोरखा मिडियाको नाम उल्लेख गरिएको हो ।
कांग्रेसले संसदीय दलको बैठकमा औपचारिक निर्णय गरेरै सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको बताउँदै आएको छ।
संसदीय छानबिन समिति गठनसँगै वैशाख २८ गतेदेखि अवरुद्ध रहेको प्रतिनिधि सभाको बैठक मंगलबारदेखि सुचारु भएको छ ।