
गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले मकवानपुरका ६५ जना सहिद परिवारलाई सम्मान गरेको छ ।
मंगलवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
त्यसैगरी मन्त्रालयले विभिन्न विधामा पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ ।
सो अवसरमा बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन नभएमा राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने बताएका छन् ।
उनले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
आगामी दिनमा प्रदेशभरीका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरिने पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।