
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
००००
सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षासहित १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको जानकारी दिएका हुन् ।
००००
सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ ।
स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आवको बजेटमा स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरिएको छ । यस्तै, उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिस आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाइएको छ ।
वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाइएको छ । यसैगरी लगानी सम्भाव्य मुलुकबाट लगानी अप्रवाह वृद्धि गर्न दोहोरो करमुक्ति सम्झौताको मोडल विकास गर्ने र सो नमूनाका आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता सुरू गर्ने सरकारको नीति छ ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा गरिएका प्रतिबद्धता तथा सम्झौताबमोजिम व्यापार सहजीकरण एवं लगानी प्रवद्र्धन गर्न नयाँ भन्सार ऐन तर्जुमा गर्ने अर्थमन्त्रीको बजेटमा समावेश छ ।
सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था बजेटले गरेको छ । यस्तै, व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था मिलाइएको छ । यसबाट खासगरी स्टार्टअप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड लाभान्वित हुने विश्वास सरकारको छ ।
यस्तै, दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फार्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई एक प्रतिशत मात्रै कायम गरिएको छ । निकासीकर्ताले विदेशी मद्रा प्राप्तिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेस गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार बनाइएको छ । यसबाट खासगरी साना तथा मझौला निकासीकर्ता उद्योग लाभान्वित हुने विश्वास लिइएको छ । वनमारा, पातपतिङ्गरलगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महसुल सरकारले हटाएको छ ।
कर विवादका कारण भोग्नुपरेका समस्या एवं मर्काका सम्बन्धमा करदाताबाट गुनासो आइरहेको सन्दर्भमा कर निर्धारणलगायतका विषयमा अध्ययन गरी समस्या समाधान गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुट दिने व्यवस्था मिलाइएको छ ।
००००
सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ ।
अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर रु एकका दरले हरित कर लगाउने उल्लेख छ ।
००००
सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर छ प्रतिशत र मुद्रास्फीति साढे पाँच प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्षको बजेटमा यस्तो अनुमान गरिएको हो ।
००००
सरकारले विद्युतीय सवारी साधन (ईभी)को करको दर हेरफेर गरेको छ । सबै साधनमा भन्सार महसुल वृद्धि भएको छ भने केहीको अन्तःशुल्क कम गरिएको छ ।
मंगलवार अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आर्थिक विधेयकमा विद्युतीय सवारीमा लाग्ने भन्सार र अन्तःशुल्क हेरफेर गरिएको हो ।
हेरफेर गरिएको करको दरअनुसार सरकारले शून्यदेखि ५० किलोवाट ब्याट्रीबाट चल्ने विद्युतीय साधनको भन्सारमा ५ प्रतिशत बढोत्तरी गरेको छ भने अन्तशुल्क पनि ५ प्रतिशत नै वृद्धि गरेको छ ।
यसअघि यस्तो विद्युतीय साधनमा अन्तशुल्क लाग्ने गरेको थिएन ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसद्मा उठाउँदै आएको माग सम्बोधन गर्दै सहकारी ठगीमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् ।
समितिको सभापति सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापालाई तोकिएको छ । यससँगै संसदको जारी अवरोध हटेको छ ।
००००
नेपाली कांग्रेसले गोर्खा मिडिया नेटवर्क प्रालिले सहकारी ठगीमार्फत नागरिकको बचत अपचलन गरेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने जनाएको छ ।
प्रतिनिधिसभाको बैठकपछि मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति गठन गर्दा ९ वटा सहकारीको रकम अपचलन भएकोमा छुट्टै व्याख्या गरेर छानबिन हुने बताएका हुन् ।
००००
नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
गत शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सिफारिस गरेपछि उनलाई काठमाडौं ल्याइएको हो ।
००००
सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रकम यथावत राखेको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताएका हुन् । यस्तै कर्मचारीको तलब पनि बढेन ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा र्पुयाउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।