११ साउन २०८३, सोमबार
क्रिकेटलाई विश्वव्यापी बनाउने प्रयास

'क्रिकेट क्रेज' कम रहेको अमेरिकामा किन हुँदैछ टी-ट्वान्टी विश्वकप ?

जेठ १६, २०८१
काठमाडौं
'क्रिकेट क्रेज' कम रहेको अमेरिकामा  किन हुँदैछ टी-ट्वान्टी विश्वकप ?
आगामी आईसीसी टी-२० विश्वकपको लागि आफ्नो आधिकारिक जर्सी सार्वजनिक गर्दै अमेरिका । तस्वीर: यूएसए क्रिकेट

१८औं शताब्दीमा क्रिकेट अमेरिकामा मनोरन्जनको लोकप्रिय रूप थियो, तर बेसबलको बढ्दो लोकप्रियतासँगै क्रिकेट क्रेज घट्दै गयो । केही समय घट्दै गएको क्रिकेट क्रेज अब भने बढ्ने पक्काजस्तै छ । किनभने अमेरिकाले यसपालि (२०२४)को टी-२० विश्वकप आयोजना गरेको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा टी–२० विश्वकप आयोजना गर्दै छन् ।

अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ठूलो प्रतियोगिता आयोजना गरेको यो पहिलोपटक हुनेछ । वेस्ट इन्डिजले यसअघि दुईवटा ठूला विश्वकप आयोजना गरिसकेको छ । २००७ मा एकदिवसीय विश्वकप र २०१० मा टी-२० विश्वकप वेस्ट इन्डिजमा खेलिएको थियो ।

जुन १ बाट शुरू हुने टी-२० विश्वकपले अमेरिकामा फेरि क्रिकेट क्रेज बढ्ने विश्वास गरिएको छ ।

आईसीसीले अमेरिकामा तीन करोड क्रिकेट फ्यान रहेको दाबी गरेको छ । यो टी-२० विश्वकपलाई २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकको लागि एक प्रमुख कदमको रूपमा पनि हेरिएको छ । यस ओलम्पिकमा १२८ वर्षपछि क्रिकेट फर्किने छ ।

अमेरिकाका तीन स्थानमा विश्वकपका जम्मा १६ खेल हुनेछन् । टी–२० विश्वकपको पहिलो खेल जुन १ मा आयोजक संयुक्त राज्य अमेरिका र क्यानडाबीच हुनेछ । फाइनल जुन २९ मा हुनेछ । पहिलो खेल डालसमा हुनेछ भने फाइनल बार्बाडोसमा हुनेछ । यो विश्वकप कुल ९ स्थानमा खेलाइनेछ ।

विश्व क्रिकेटमा आर्थिक रूपमा भारतले प्रभुत्व जमाएको छ । क्रिकेट क्रेजीहरू पनि सबैभन्दा धेरै भारतमै छन् ।क्रिकेटका ९० प्रतिशत क्रेजीहरू पनि भारतसहित दक्षिण एसियामै रहेको एक तथ्यांकले देखाएको छ । त्यसो भए अब प्रश्न उठ्छ टी-२० विश्वकप किन अमेरिकामा आयोजना गरियो ? यसका केही निश्चित कारण छन् ।

आप्रवासी फ्यान धेरै

अमेरिका विश्वभरका मानिसहरू बसोबास गर्ने थोरै देशहरूमध्ये एक हो । देशको जनसङ्ख्या ३३ करोडभन्दा बढी छ, जसमध्ये करिब ४ करोड ५० लाख अन्य देशबाट आएका आप्रवासी छन् । जसमध्ये ५० लाख दक्षिण एसियाली छन् र करिब १ करोड ५० लाख मानिस क्रिकेट दर्शक बढी हुने देशका छन् । जसमा अस्ट्रेलिया, अफ्रिका, युरोप र वेस्ट इन्डिज छन् । यसको मतलब अमेरिकामा हुने १६ खेलमा शीर्ष टोलीका लागि समर्थनको कुनै कमी हुनेछैन ।

भारत र पाकिस्तानबीचको खेल ९ जुनमा न्यूयोर्कमा हुनेछ । यसको टिकट ८० हजारदेखि १६ लाखसम्म बिक्री भएको थियो । ३४ हजार दर्शक क्षमता भएको स्टेडियममा सबै टिकट बिक्री भइसकेको छ । टीम इण्डियाले न्यूयोर्कमा तीन र फ्लोरिडामा एक खेल खेल्नेछ, जसका सबै टिकटहरू पनि लगभग बिकिसकेका छन् ।

अमेरिकामा दक्षिण एसियाली जनसंख्या बढेसँगै क्रिकेटको चलन पनि बढेको छ । सन् २००० मा अमेरिकामा २२ लाख दक्षिण एसियाली नागरिक हुँदा २ हजार मात्रै दर्ता भएका क्रिकेटर थिए । सन् २०२० मा दक्षिण एसियाली जनसंख्या बढेर ५५ लाख पुगेको छ, जसका कारण दर्ता भएका क्रिकेटरको संख्या पनि २.५० लाख पुगेको छ ।

अमेरिकी खेल बजार

अमेरिकामा क्रिकेट खासै चर्चित छैन । रग्बी, बास्केटबल, आइस हक्की, बेसबल र फुटबलजस्ता खेलहरू बढी चल्तीमा छन् । अमेरिकी फुटबल लीगको टोली डालस काउब्वाइज सबैभन्दा धेरै कमाउने खेल टोलीहरूमध्ये पहिलो नम्बरमा छ। सबैभन्दा धेरै कमाउने शीर्ष १० टोलीमा ७ अमेरिकी र ३ अंग्रेजी फुटबल टोली छन् । यी १० टोलीहरू बास्केटबल, फुटबल र अमेरिकी फुटबलको एक हिस्सा हुन् ।

नेट वर्थमा शीर्ष १० खेलकुद टोलीहरू अमेरिकाका मात्र हुन् । यसमा डालास काउब्वाइज पनि शीर्ष स्थानमा छ, टोलीको वार्षिक कुल सम्पत्ति करिब ३५०० करोड रुपैयाँ छ । यसको तुलनामा आईपीएलको शीर्ष टोली मुम्बई इन्डियन्सको नेटवर्थ मात्र ७२२ करोड रुपैयाँ छ । डालासको कमाई मुम्बईको भन्दा लगभग पाँच गुणा बढी छ ।

अमेरिकी अर्थव्यवस्था

जीडीपीको हिसाबले अमेरिका विश्वको सबैभन्दा धनी देश हो । यदि यहाँ क्रिकेट क्रेज बढ्यो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ठूला अमेरिकी कम्पनीहरूलाई प्रायोजनका लागि लक्षित गर्नेछ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा पैसाको प्रवाह तीव्र रूपमा बढ्ने विश्वास छ । अहिले क्रिकेटमा सबैभन्दा धेरै पैसा भारतीय बोर्डसँग छ । अमेरिकामा क्रिकेट सफल भएमा आईसीसीको आम्दानी पनि बीसीसीआईसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न सक्छ।

क्रिकेटलाई विश्वव्यापी बनाउने प्रयास

सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक खेलमा क्रिकेट समावेश छ । टी–२० विश्वकपमा १६ खेलको आयोजना गरेपछि अमेरिकाले ओलम्पिकमा पनि क्रिकेट खेल राम्ररी आयोजना गर्ने हो भन्ने स्पष्ट हुनेछ । ओलम्पिकमा २०६ देशको सहभागिता रहने छ भने अहिलेसम्म क्रिकेट १०३ देशमा मात्र पुगेको छ । क्रिकेट अमेरिका र ओलम्पिकमा सामेल भएसँगै खेल विश्वव्यापी रूपमा बढ्नेछ ।

अमेरिका र ओलम्पिकको सहयोगमा धेरै देशले क्रिकेट खेल्न थाले भने खेल फुटबलको स्तरमा पुग्न सक्छ । हाल, व्यावसायिक फुटबल २०० भन्दा बढी देशहरूमा खेलिन्छ । जबकि क्रिकेट खेल्ने देश यो संख्याको आधा मात्रै छ ।

अमेरिकामा क्रिकेटको विकास

अमेरिकाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १८४४ मा खेलेको थियो तर आईसीसीले भने सन् २००४ मा मात्रै अमेरिकी टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा मान्यता दिएको थियो । किनभने अमेरिकाले १५९ वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन । देशले सन् २०१९ मा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय पनि खेलेको थियो ।

अमेरिकी टोलीले सेतो बलको ढाँचामा एक सय अन्तर्राष्ट्रिय खेल पनि खेल्न सकेको छैन । तर, पछिल्ला केही वर्षयता देशले क्रिकेटमा आफ्नो छाप छोड्न थालेको छ । फ्रेन्चाइज प्रतियोगिता मेजर लिग क्रिकेट यहाँ २०२३ मा शुरू भएको थियो । निकोलस पूरन, क्विन्टन डी कक, हेनरिक क्लासेन, आन्द्रे रसेल, डेभोन कोनवे, म्याथ्यू वेड जस्ता शीर्ष क्रिकेटरहरू सहभागी थिए ।

अमेरिकाले पाकिस्तानका शायन जहाँगीर, अली खान, भारतका मिलिन्द कुमार, मोनांक पटेल र न्यूजिल्याण्डका कोरी एन्डरसन जस्ता खेलाडीलाई पनि आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको छ । जसको सहयोगमा टोलीले तेस्रो टी–२० सिरिजमा बंगलादेशलाई २–१ ले हराएको थियो ।

अब विश्वकपमा अमेरिकी टोलीले समूह चरणका खेल भारत, पाकिस्तान र आयरल्याण्डसँग खेल्नेछ । यहाँ टोलीले १–२ खेल पनि जित्यो भने देशका युवालाई क्रिकेट खेल्न प्रेरणा मिल्नेछ । यससँगै अमेरिकामा क्रिकेटको विकासको सम्भावना पनि धेरै हदसम्म बढ्ने छ । एजेन्सीको सहयोगमा

प्रस्तुति : विनोद देवकोटा

 

salt training

कमेन्ट गर्नुहोस्