
मोरङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई प्रहरीको खोजीको सूचीमा रहेका रंगेली नगरपालिका–४ का वडाध्यक्ष कार्यालयबाटै काम गरिरहेका छन् । सरकारी कागजपत्र किर्ते गरेर अंसियारहरूको हक लाग्ने सम्पत्ति एक जना व्यक्तिको नाममा पार्ने प्रपञ्च गरेको आरोपमा वडाध्यक्ष अवदेश मण्डलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारीपछि फरार सूचीमा रहेका वडाध्यक्ष मण्डलबारे प्रहरी भने बेखबर बनेको छ । जिल्ला अदालत मोरङले उनीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान अगाडि बढाउन प्रहरीलाई आदेश गरेको थियो ।
तर, प्रहरीले भने पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूको खोजी गर्न आनाकानी गर्दै आएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई मात्र पक्राउ गरेको छ । किर्ते जालसाजीमा संलग्न भएको आरोप लागेका बाँकी १२ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छैन ।
सगोलका अंसियारहरूको अधिकार लाग्ने सम्पत्ति एकलौटी रूपमा हड्प्ने घटनामा वडाध्यक्ष मण्डलसहित साँची किनारामा हस्ताक्षर गर्नेहरू, मालपोत कार्यालयका लेखन्दाससहित १२ जनालाई पक्राउ गरी कारवाही गर्न अदालतले आदेश दिएको भए पनि प्रहरीले पक्राउ गर्न चासो नदिएको रंगेली–७ का विरेन्द्रकुमार साहले बताए ।
अभियुक्तहरू गाउँमा डुलिरहेको र वडाध्यक्षले नियमित कार्यालयको काम गरिरहेको अवस्थामा प्रमाण नष्ट हुने र मुद्दा दायर गर्ने पक्षमाथि कुनै पनि सुरक्षा चुनौती थपिएको उनले बताए । आफूहरूले उनीहरूबाट असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।
सरकारी कागजपत्र किर्ते मुद्दामा मोरङ अदालतबाट पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि वडाअध्यक्ष मण्डलसहित १२ जनालाई प्रहरी कारवाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै उनले आक्रोश पोखे । अनुसन्धान गर्ने निकायबाट भएको व्यवहारले आफूहरूले न्याय नपाउने हो कि भन्ने आशंका उब्जेको उनले बताए ।
जेठ १ गते मोरङ प्रहरीमा जाहेरी दर्ता भएपछि गत जेठ ९ गते मोरङ अदालतबाट वडाअध्यक्ष मण्डलसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र किर्ते गरेको मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । जसमध्ये प्रहरीले एकलौटी रूपमा आफ्नो आममा नाममा जग्गा नामसारी गराउने राजकिशोर साहलाई मात्रै पक्राउ गरेको छ ।
वडाध्यक्षसहित १३ जना मिलेर रंगेली–४ आमतोलामा रहेको करिब ३ करोड पर्ने नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा र उद्योग कब्जा गर्ने प्रयास भएको स्थानीयको दाबी छ । स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग जेठी श्रीमती र जेठीपट्टीका छोराको हक हनन् गरी कान्छी श्रीमतीको नाममा ल्याउन रंगेली–४ का वडाअध्यक्ष मण्डलसहितले अनधिकृत लेनदेन गरी पदको दुरुपयोग गरेको उनीहरूको आरोप छ ।
वडाअध्यक्षको अवैध कामलाई रंगेली नगरपालिकाका उपप्रमुख भुमा पराजुली (निरौला)का श्रीमान गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएको उनीहरूको आरोप छ ।
घर र उद्योगसहित करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी कब्जा गर्ने प्रयत्न भएको पीडित पक्षले दाबी गरेको छ । उनका अनुसार मालपोत कार्यालयमा यसअघि भएको अंश भर्पाइमा केरमेट गरी किर्ते गरिएको र त्यसका आधारमा सम्पत्तिमा एकलौटी गर्ने निर्णय विभिन्न निकायबाट हुँदै गएको हो । तर, अर्का अंशियारसँग अंश भर्पाइको सक्कल कागज भएका कारण उनीहरूले किर्ते गरेको खुलेको थियो ।
दुई पत्नीका पति रामप्रसाद साहको अघिल्लो वर्ष मृत्यु भएपछि जेठी श्रीमती कलावतीदेवी र कान्छी कौशिला देवी साह तथा जेठीतर्फका छोरा विरेन्द्रकुमार साह र कान्छीतर्फका छोरा राजकिशोरको नाममा सम्पत्ति भाग लाग्नुपर्नेमा कौशिलालाई सबै सम्पत्ति दिलाइदिने प्रपञ्च गरिएको थियो । वडादेखि नगरपालिका र मालपोतको मिलेमतोमा जग्गा कौशीलादेवी साहको नाममा नामसारी भइसकेको छ ।
जेठा छोरालाई पत्तो नदिई कान्छी आमाको नाममा बाबुको सम्पत्ति लगिएको हो । जग्गा नामसारी भएको १० महिनापछि मात्र विरेन्द्रले घटनाबारे पत्तो पाएका हुन् । त्यसपछि उनले मालपोतमा गएर बुझ्दा सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएपछि प्रहरीमा १ जेठमा जाहेरी दर्ता गराएका थिए ।
अदालतबाट पक्राउ पूर्जी जारी भएपछि वडाअध्यक्ष पनि केही दिन फरार भएका थिए । तर, पछि राजनीतिक आडभरोसामा उनीहरू गाउँ फर्केर खुलेआम डुलिरहेका छन् । वडाध्यक्ष मण्डललाई रंगेलीका मेयर दिलिप बगडिया र उपमेयरसमेतले संरक्षण गरेको र उनीहरूकै दबाबमा प्रहरीले एक जनाबाहेक बाँकीलाई पक्राउ नगरेको पीडितको आरोप छ ।
मोरङ प्रहरीले भने उनीहरूको खोजी गरिरहेको दाबी गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले आफूहरू अनुसन्धानकै क्रममा रहेको बताए । ‘पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान गर्नु हुँदैन भन्ने छ र ?’ उनले प्रश्न गर्दै भने, ‘सबै जनालाई अनुसन्धान हुन्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’