१० साउन २०८३, आइतबार
अमेरिकी राष्ट्रपति निर्वाचन

३४ मुद्दामा दोषी ठहर भएका ट्रम्प अझै अमेरिकी राष्ट्रपतिको निर्वाचन लड्न सक्छन् ?

जेठ १८, २०८१
काठमाडौं
३४ मुद्दामा दोषी ठहर भएका ट्रम्प अझै अमेरिकी राष्ट्रपतिको निर्वाचन लड्न सक्छन् ?

डोनाल्ड ट्रम्प आपराधिक रूपमा दोषी ठहरिने पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् । तर उनको चलिरहेको चुनावी अभियानको लागि यो ऐतिहासिक फैसलाको अर्थ के हुन सक्छ ?

न्युयोर्कको एक निर्णायक मण्डलले साढे नौ घन्टासम्म छलफल गरी ट्रम्पलाई चुनावी धाँधली गर्नका लागि व्यापारिक अभिलेख किर्ते गरेको लगायत ३४ मुद्दामा दोषी ठहर्‍याएको थियो ।

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले यौनकर्मी स्टोर्मी डेनियललाई एक लाख ३० हजार डलर दिएर आफ्नो कुकर्म लुकाउन प्रयास गरेको आरोप लगाइएको थियो ।

सन् २०१६ मा अमेरिकाको राष्ट्रपति बनेका ट्रम्पले त्यसअघि आफ्नो अभियानमा कुनै नकारात्मक प्रभाव नपरोस् भनेर वकिलमार्फत सो रकम ती महिलालाई दिएका थिए ।​

म्यानहटनको एक अदालतको इजलासले ट्रम्पलाई सोही आरोपसँगै अन्य ३४ आरोपमा दोषी ठहर्‍याएको हो ।​

के ट्रम्प अझै पनि राष्ट्रपतिको लागि लड्न सक्छन्?

अमेरिकी संविधानले राष्ट्रपति बन्न लागि योग्य हुनका लागि तीनवटा मुख्य आवश्यकताहरू तोकेको छ । त्यसमा अदालतले दोषी ठहर्‍याएको व्यक्ति राष्ट्रपति बन्न नसक्ने उल्लेख छैन ।

ती तीन योग्यतामध्ये उम्मेदवारहरू संयुक्त राज्य अमेरिकामा जन्मेको हुनुपर्छ, ३५ वर्षभन्दा माथिको हुनुपर्दछ र कम्तीमा १४ वर्षदेखि अमेरिकामा बसेको हुनुपर्छ ।

'निर्वाचनको समयमा जेलमा भए पनि उनलाई राष्ट्रपतिको उम्मेदवार हुन र निर्वाचित हुनबाट कुनै पनि कुराले रोक्दैन,' प्रगतिशील संवैधानिक जवाफदेहिता केन्द्रका अध्यक्ष एलिजाबेथ वाइड्राको भनाइ उद्धृत गर्दै लस एन्जलस टाइम्सले लेखेको छ ।

तर अमेरिकाको केही राज्यमा गम्भीर अपराध गरेर एक वर्ष या त्यो भन्दा बढी जेल सजाय भोग्नुपर्ने व्यक्तिले मत दिन नपाउने कानून छ ।​

तर उनी जेलमै निर्वाचित भए के हुन्छ ?

अमेरिका संघीय र प्रादेशिक कानूनअनुसार यो विषय भने अलिकति जटिल रहेको कतिपय अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जेलमै भएको अवस्थामा निर्वाचित भए उनलाई जेलबाट निस्कन दिने या नदिने भन्ने कानून स्पष्ट छैन ।

४ वर्ष भन्दा कम जेल सजाय हुने अपराधहरू न्युयोर्कमा ई वर्गका अपराध हुन् । ट्रम्पलाई दोषी ठहर्‍याउने इजलासले अहिलेसम्म सजाय तोकिसकेको छैन ।

न्यायालयले सजाय छनोट गर्दा सबैभन्दा पहिला ट्रम्पको उमेरलाई ध्यानमा राख्नुपर्नेछ । उनी अहिले ७७  वर्षका भए ।

उनले यसअघि कुनै अपराध गरेको रेकर्ड छैन भने अहिले जुन अपराधमा दोषी देखिएका छन्, त्यो गैर-हिंसात्मक अपराध हो भन्ने तथ्य सजाय निर्धारण गर्दा इजलासले सोच्ने कुरा अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यदि उनले जेल सजाय पाइहाले पनि पुनरावेदनमा जाने सम्भावना उच्च छ । त्यसैले यदि उनले राष्ट्रपति जितिहाले भने पनि कानून उनकै पक्षमा रहेको उनीनिकट वकिलहरूको दाबी छ ।

'यो केवल अनुमान मात्र हो,' क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका संवैधानिक कानून विशेषज्ञ इर्विन चेमेरिन्स्कीले न्युयोर्क टाइम्सलाई भनेका थिए, 'हामी अहिलेसम्म नभएको कुरा भोगिरहेका छौं ।'

salt training

कमेन्ट गर्नुहोस्