२३ जेठ २०८३, शनिबार

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

जेठ १९, २०८१
काठमाडौं
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

चितवनस्थित संघीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ । सरकारले बजेटमार्फत् आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल तयारीमा जुटेको हो ।
 
यसअघि नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालमा चिकित्सा शिक्षा अध्ययनका लागि अध्ययन गर्ने उल्लेख थियो । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए ।
 
अस्पतालको जग्गामा रहेको सीटीईभीटीअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही ठाउँमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अध्यक्ष पौडेलले यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सीटीईभीटीमा पत्राचार भइसकेको बताए । लामो प्रयासपछि चिकित्सा शिक्षाको पढाइ सञ्चालन गर्ने विषयलाई बजेटमा समेटन सफल भएको उनको भनाइ छ । दुई तले उक्त संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । 

सरकारसँग ५५ करोड रुपैयाँ थप माग गरेको जानकारी दिँदै अध्यक्ष पौडेलले २५ करोडको लागतमा भवन निर्माण गरिने र बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गर्ने योजना रहेको बताए । भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ । नेम्सअन्तर्गत एक सय विद्यार्थीलाई चिकित्सा शिक्षा पढाइने उनले बताए । 'जनशक्ति अस्पतालसँग छ, भवनको व्यवस्था भएपछि कक्षा सञ्चालन हुन्छ,' उनले भने । 
 
यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतको नेतृत्वको टोलीले शुक्रबार भरतपुर अस्पतालको अनुगमन गरेको छ । सो क्रममा उनले भरतपुर अस्पतालमा चिकित्सा शिक्षा पढाउन सकिने अवस्था रहेको बताए । जिल्लामा हाल चितवन मेडिकल कलेज र ‘कलेज अफ मेडिकल साइन्सेस’मा चिकित्सा शिक्षा पठनपाठन हुँदै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्