
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको नारा लगाउँदा राजद्रोहको मुद्दा खेपेर आएकोले अहिलेका झुसे बारुलासँग नडराउने टिप्पणी गरेका छन् । संसदमा मन्त्रीहरूले बोल्दा रत्नपार्कको चटकेले जस्तो बोल्न नमिल्ने उनले बताए ।
आइतवार प्रतिनिधिसभाको विशेष समयमा थापाले ‘झुसे बारुलासँग नडराउने’ बताएका हुन् । ‘व्यक्तिगत रुपमा मेरोबारेमा चिन्ता होइन । सत्तासँग लड्दा घाउ कसरी लाग्छ थाहा छ । हजाराैँले नारा लगाउँदा एक्लै राजद्रोहको मुद्दा खेपेको हुँ । अख्तियार प्रमुखदेखि प्रधानन्यायाधीससँग लडेको हुँ । ‘आच्छु खाएँ बाच्छु खाँए झुसे बारुलो’ यस्तो खालको उखान भन्न नसुहाउला तर सदनको गरिमासँग जोडिएको विषय छ, रत्नपार्कको चटकेले जस्तो बोल्न पाइँदैन,’ उनले भने ।
विदेशीलाई सूचना बेच्ने भनेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपबारे अब संसदमा प्रधामनन्त्रीले जवाफ दिनुपर्ने थापाले बताए । ‘गृहमन्त्रीबाट जुन कुरा सुनियो, कि प्रधानमन्त्रीले सही हो भन्नु पर्यो, कि रेकर्डबाट हटाइन्छ भनेर जवाफ दिनुपर्याे । प्रधानमन्त्रीसँग हिसाब लिइन्छ, यही सदनमा,’ उनले भने ।