
सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनेको केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा सोमबार प्रचण्ड, ओली र देउवाबीच डेढ घण्टा बढी छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
‘लामो छलफलपछि सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्ने काम भयो । यसले संसद्को गतिविधि पनि सहजै अगाडि बढ्ने वातावरण बन्दै गएकाले शीर्ष तीन नेताले छलफल गर्नुभएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘संसद् विपक्षीको भन्छन् । कांग्रेसले संसद् खोलेपछि पहिले बन्द भएको अवधिको क्षतिपूर्ति हुने गरी संसद्लाई बिजनेस दिनेबारे छलफल भएको छ ।’
थुप्रै विधेयकहरू अड्किएर बसेकाले यिनीहरूलाई प्रभावकारी रूपले अगाडि बढाउने विषयमा छलफल भएको जानकारी बालुवाटार स्रोतले दियो । तर, स्रोतले काठमाडौं महानगरपालिकाका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको विषयमा छलफल नभएको दाबी गर्यो ।
बालेनले सोमवार मात्रै गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा एमाले अध्यक्ष ओलीलाई लाञ्छना लगाउँदै उनीमाथि गम्भीर सवाल उठाएका थिए । तर, यस्तो विषयमा कुरा नभएको छलफलमा सहभागी नेतासँग निकट स्रोतले दाबी गर्यो ।
‘बालेनलाई किन महत्त्व दिइरहने, उनलाई मिडियाले नेता बनाएका हुन् । तर, उनीहरू नै मिडियालाई गाली गर्छन् । मिडियाले भगवान् बनाएकाहरूको आलोचना हुँदा समर्थकहरू भड्किन्छन् । उल्टै मिडियाविरुद्ध खनिन्छन्,’ ती नेता भन्छन्, ‘राजनीतिक प्रतिस्पर्धा भए पनि मिडियाले आलोचना गरे भनेर प्रचण्ड, ओली र देउवाले कहिल्यै गाली गरेनन्, यी खेमाका नेताले इगो साँधेनन् ।’
नयाँ दल र स्वतन्त्रका नाममा अराजकता बढ्दा कसैलाई पनि फाइदा नहुने उनले बताए ।
यसअघि बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेपछि बालेनमाथि कारबाही गर्न सकिने उपायबारे छलफल गरेका थिए । तर, बालेनलाई चलाउँदा झन् नकारात्मक सन्देश जाने भएपछि प्रधानमन्त्री प्रचण्ड हच्किएका थिए ।
शीर्ष तीन नेता भेट्नुअघि बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए । नेपालसँग प्रधानमन्त्रीले प्रदेश सरकार र समसामयिक विषयमा कुराकानी भएको थियो ।