२५ असार २०८३, बिहीबार

मुग्लिन–पोखरा सडक विस्तार : संरचना नहटाउँदा काममा विलम्ब

जेठ २६, २०८१
तनहुँ
मुग्लिन–पोखरा सडक विस्तार : संरचना नहटाउँदा काममा विलम्ब

निर्माणाधीन मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ ।

सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो ।

वडा कार्यालयले सडक खण्डमा पर्ने घर-टहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ ।

वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घर-टहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका हुन् ।

गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घर-टहरामध्ये अधिकांश घर-टहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा उक्त सात जना घरधनीले पटकपटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्णरुपमा नहटाएको जनाइएको छ ।

सोका कारण सडक निर्माणमा अवरोध भइरहेको जानकारी हुन आएको हुँदा सडक मापदण्डभित्र पर्ने संरचना यथाशीघ्र हटाइ सडक निर्माणमा सहजीकरण गरिदिन आग्रह उनले गरेका छन् ।

साथै सडक मापदण्डभित्र पर्ने संरचना नहटाइएको पाइएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष श्रेष्ठले जानकारी गराए ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो ।

सडक विस्तारमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउनेमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको थियो ।​

एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साबिक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ ।

उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । 

उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घर-टहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घर-टहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो ।

यसैगरी पूर्वी खण्डअन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन । सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्मे छ ।

पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनः थप गरिएको छ ।

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र सात दशमलव पाँच किमी दुई लेनमा कालोपत्रे सकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्