
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको आजदेखि शुरू भएको नगर अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
खनालले समाजवादको ‘एजेन्डा’बिना कम्युनिस्ट पार्टीहरू टिक्न नसक्ने बताए ।
नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य रहेको बताए ।
'अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ,' उनले भने ।
समाजवादले आम नागरिकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उनले सङ्घीय शासन व्यवस्थामा तीनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।