
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार अपराह्न त्यसतर्फ प्रस्थान गर्दैछन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमालेको अस्तित्व समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको बताएका छन् ।
एमाले काठमाडौं जिल्लाको सातौं अधिवेशनको शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा भएको संसद् विघटनको प्रसंगलाई कोट्याएका हुन् ।
संसद् विघटन गरेकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको रहेको उनले बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
पार्टीको कोशी प्रदेश कमिटीद्वारा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको उल्लेख गरे ।
००००
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको आजदेखि शुरू भएको नगर अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
००००
सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार रु एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब रु एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ ।
चालु आव २०८०–८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा रु ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ ।
००००
प्रतिनिधिसभा बैठकमा आइतबारदेखि विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि छलफल हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विनियोजन गरिएको बजेटमाथि छलफल हुन लागेको हो ।
००००
नेकपाका महासचिव नेत्र विक्रम चन्द बिप्लव चितवनको माडी पुगेका छन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अबलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिम सहित चितवन पुगेका हुन् ।
नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।
००००
नेकपा एमालेको हालसम्म ६३ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए ।
शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
००००
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।