
कायरो–इजिप्टको विदेश मन्त्रालयले मध्य गाजाको नुसिरात शिविरमा १५० जनाभन्दा बढी प्यालेस्टिनी मारिएका इजरायली हमलाको शनिवार विज्ञप्ति जारी गर्दै कडा निन्दा गरेको छ ।
‘यो आक्रमणको परिणामस्वरूप एक सय ५० भन्दा बढी प्यालेस्टिनी नागरिकहरूको मृत्यु हुनुका साथै सयौं घाइते भए छन् । इजरायलले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनका सबै प्रावधानहरू, मानवता र मानवअधिकारका सबै मूल्यको खुलमखुला उल्लङ्घन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
इजिप्टले यस आक्रमणका लागि स्पष्ट रुपमा इजरायललाई कानूनी र नैतिक रूपमा जिम्मेवार ठहर गर्दै इजरायलले आफ्नो दायित्वको पालना गर्न र प्यालेस्टिनी नागरिकहरू र उनीहरु विस्थापित भएका क्षेत्र लक्षित हमला रोक्न माग गरेको छ ।’
विज्ञप्तिमा गाजापट्टीमा सबै पूर्वाधारको अनावश्यक विनाशको पनि निन्दा गरिएको छ।
इजिप्टले गाजाविरुद्ध इजरायली युद्ध तत्काल रोक्न प्रभावशाली अन्तर्राष्ट्रिय दल र सुरक्षा परिषदलाई आह्वान गरेको छ।
इजिप्टले ३६ हजार भन्दा बढी मानिसको ज्यान लिएको यो मानवीय सङ्कट अन्त्य गर्न जिम्मेवार निकायको आवश्यकतामा जोड दिँदै गाजापट्टीभरि पूर्ण युद्धविराम हासिल गर्ने अनिवार्यता र क्षेत्रमा सबै क्रसिंगहरूमार्फत मानवीय सहायता र राहत आपूर्तिको अप्रतिबंधित प्रवेशलाई जोड दिएको छ ।