२५ असार २०८३, बिहीबार

भोजपुरको नागीमा मह बेचेरै भित्रियो एक करोड बढी

जेठ २८, २०८१
भोजपुर
भोजपुरको नागीमा मह बेचेरै भित्रियो एक करोड बढी

भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।

नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उनले बताए । 

एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उनले जानकारी दिए । स्थानीय बजारमा मह प्रतिकेजी एक हजार पाँच सयमा बिक्री हुने उनको भनाइ छ ।

'मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,' उनले भने, 'मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।'

नागी क्षेत्रबाट एक वर्षमा एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताए । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उनको भनाइ छ । 

भौगोलिक रूपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पुर्‍याउने लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उनले जानकारी दिए ।

'हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ,' वडाध्यक्ष राईले भने, 'यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।'

व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

'मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ,' प्रशासकीय अधिकृत पौडेलले भने, 'यो वर्ष करिब सात लाख ७० हजार बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।'

पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताए । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उनको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उनको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिए ।

'हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ,' उनले भने, 'आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।'

गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । किसानलाई व्यावसायिक बनाउन उनीहरूको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । 

नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताए ।

'गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ,' उपाध्यक्ष राईले भने, 'यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।' रासस

salt training

कमेन्ट गर्नुहोस्