
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
उनीहरूबीच दुई देशबीचका जनता माझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए ।
शपथग्रहणपछि उनीहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका दाहाल आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।