०४ साउन २०८३, सोमबार
शताब्दीअघिको आरोहण

‘द फाइट फर एभरेस्ट’ : १०० वर्षअघि ब्रिटिस टोलीले सगरमाथा चढ्न गरेको संघर्षको कथा

जोन पोर्टर– जो शेर्पाको सहयोगविनै हिमाल चढ्नेलाई मात्र आरोही मान्छन्
जेठ २८, २०८१
कास्की
‘द फाइट फर एभरेस्ट’ : १०० वर्षअघि ब्रिटिस टोलीले सगरमाथा चढ्न गरेको संघर्षको कथा

७१ वर्षअघि पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेर नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले इतिहास रचे । यो सफलता ब्रिटिसका लागि पनि उत्तिकै ऐतिहासिक थियो ।

१९२० देखि बिट्रिसले गरिरहेको प्रयास सन् १९५३ मे २९ का दिन करिब ११ः३० बजेको समयमा सफल भएको थियो । यसबीचमा सगरमाथाको सफल आरोहण गर्न धेरै प्रयास भएका थिए । जसमध्येको एक हो, १९२४ मा ब्रिटिस नागरिक जर्ज म्यालोरी र एन्ड्रयूको टोलीले गरेको प्रयास । 

जर्ज र एन्ड्रयू सगरमाथामा हराएको ७५ वर्षपछि फेला परे । उनीहरूको शव सन् १९९९ मे १ मा ८ हजार १५५ मिटरको उचाइमा फेला पर्‍यो । शवसँगै क्यामेरा भेटिएको थियो । 

क्यामेरामा कैद भएका दृश्यले जर्ज र एन्ड्रयूको यात्रा देखियो । तर, इतिहासको गर्तमा लुकेर बसेको विषय बन्यो, उनीहरू सगरमाथाको चुचुरोमा पुगे वा बीचमै अस्ताए ।

सय वर्ष अगाडि सगरमाथा आरोहणका लागि गरेको संघर्ष तस्वीरमा जीवन्त बनाएर प्रदर्शनीमा राखिएको छ, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा । 

null

सय वर्ष पुरानो तस्वीरलाई विभिन्न स्रोतमार्फत संकलन गरेर आरोहण संघर्षको फोटो कथालाई नाम दिएको छ, ‘फाइट फर एभरेस्ट १९२४’ । यी तस्वीर संकलन गरेका हुन्, विश्वको सबैभन्दा पुरानो पर्वतारोहणको संस्था अल्पाइन क्लबका पूर्व अध्यक्ष तथा पर्वतारोही जोन पोर्टरले । 

पवर्तरोहणको कथा सुनेर हुर्किएका जोनलाई बाल्यकालदेखि सगरमाथाले आकर्षित गर्थ्यो । यही आकर्षणले हिमालसँग साइनो गाँस्न मद्दत पुर्‍यायो । सगरमाथाको आकर्षणले नै उनी सन् १९८० मा नेपाल आए । अन्नपूर्ण आरोहणको प्रयास गरे । उनले अन्नपूर्ण हिमाल आरोहणका क्रममा आफ्नो साथी गुमाएका थिए । उनले यस विषयमा किताब लेखेका छन्, वान डे एज अ टाइगर । 

हिमाल आरोहणको समयमा साथी गुमाएका जोनलाई थाहा छ, आरोहणको संघर्ष । त्यसैले उनलाई लाग्यो आरोहणको प्रयासबारे कथा बनेका छैनन् । यसलाई देखाउनुपर्छ । त्यसपछि उनले सय वर्ष पुराना तस्वीर संकलन गर्न थाले । साथै, एभरेस्ट रिभिजिटेड– १९२४ वृत्तचित्र बनाए । 

‘हिमाल चढ्नका लागि प्रयास भए, तर आजसम्म कसैले यसको कथा भन्नका लागि यी दृश्य र चित्र एकै ठाउँमा ल्याएका थिएनन् । मलाई सेन्स आयो, सबै सामान जम्मा गरेर स्क्रिप्ट लेख्ने । यसबारेमा जानकार भएकाहरूसँग सोधखोजी गरियो,’ जोनले सुनाए । 

null

सगरमाथा आरोहणलाई उनी ‘वन्डरफुल’ भन्छन् । मृत्युको मुखमा पुगेर फर्किएको याद पनि उनको सम्झनामा ताजै छन् । ‘हामी एक्लै थियौं । असाध्यै जाडो थियो । कोही कसैको मृत्यु भएन । यद्यपि मृत्युको मुखमा धेरैपटक पुग्यौँ । गाह्रो थियो त्यो । मैले मेरो धेरै साथी गुमाएँ,’ उनी नरमाइलो सुनिए ।

पछिल्लो समय सगरमाथा आरोहणमा पर्यटकको घुइँचो लाग्न थालेको छ । आम्दानी र सगरमाथा संरक्षणको विषयमा २ धारमा उभिएर बहस तथा आवाज उठ्ने गरेको छ । जोन यसलाई फरक ढंगले हेर्छन् । शेर्पाको सहायता लिएर हिमाल चढ्नेलाई उनी आरोही मान्दैनन् । 

‘अहिले सोच्छु, यो पर्वतारोहीको रुचिको विषय मात्र रहेन, पर्यटकको पनि भयो । तर, अझै पनि धेरै पर्वतारोही छन्, जसले राम्रो काम गरिरहेका छन्, यहाँ (नेपाल), भारत वा विश्वभर (रहेर),’ उनले भने । 

null

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा पर्वतारोहीले विभिन्न समस्या भोग्नुपरेको उनले बताए ।

‘जलवायु परिवर्तन र संकटका कारण धेरै युवा पर्वतारोहीले विभिन्न समस्याको सामना गरिरहनुपरेको छ । जब हामीले आरोहण गरेका थियौं, धेरै मामलामा सुरक्षित थियो । हिउँ चिसो थियो । स्टेबल थियो । अहिले खतरा छ,’ उनले सुनाए । 

जलवायु परिवर्तन र हिमाल चढ्नेहरूको चापले सुरक्षा चुनौती बढाएको छ । यस विषयमा नेपाल सरकारले चिन्तन गर्नुपर्ने उनको सुझाव छ ।

‘हामीले कन्ट्रोल गर्न सक्दैनौं, यो सरकारले रियलाइज गर्नुपर्ने विषय हो । पर्वतारोहणमा जाने व्यक्तिको विषय पनि हो यो । यो होलिडे वा कतै गएजस्तो होइन । कसैले ज्यान गुमाउँछन् भने त्यो सरकारको जिम्मेवारी पनि हो । समुदायको जिम्मेवारी पनि हो । सही निर्णय लिनुपर्छ, यसमा सन्तुलन छैन,’ उनले भने ।

null

आरोहण टिकट काटेर प्लेन चढ्नुजस्तो सहज नरहेको उनको अनुभव छ । 

‘धेरैले के सोच्छन् भने सगरमाथा चढ्नु टिकट काटेर हङकङ जानुसरह हो । सगरमाथा आरोही भनिनकै लागि उनीहरू यसो गर्छन्,’ उनले थपे, ‘उनीहरूले आफैं आरोहण गरेका होइनन्, शेर्पाले माथि तानेका हुन् । शेर्पाको सहयोगविना उनीहरू बाँच्न असम्भव छ । शेर्पा प्रोफेसनल छन् । हिमाल खतरापूर्ण छ ।’

एल्पाइन क्लब पर्वतारोहीहरूको बलियो र पुरानो संस्था हो । यस संस्थाका आरोही आफ्नै प्रयासमा हिमाल चढ्छन् । त्यसैले पनि शेर्पाको सहयोगमा हिमाल चढ्ने पर्यटकलाई उनी पर्वतारोही मान्दैनन् । 

‘हाम्रो क्लबका मेम्बरहरू शेर्पाविना हिमाल चढ्छन् । हामीहरू पर्वतारोही हौं, त्यसैले शेर्पाको मद्दत लिँदैनौँ । शेर्पाहरू उत्कृष्ट काम गर्छन् । एल्पाइन क्लबका आरोही स्वतःस्फुर्त हिमाल आरोहण गर्न रुचाउँछन् । तर, हामी जानकार छौं, शेर्पाहरूको कामबारे,’ उनले भने । 

सय वर्षअघि सगरमाथाको सफल आरोहणका लागि संघर्ष भएको थियो । यो सय वर्षको अन्तरालमा परिवर्तन भएको छ । हिमालको सफल आरोहण धेरैको हुटहुटी बनेको छ । यसले हिमालमा विशेषगरि सगरमाथामा पर्यटकको चाप बढाएको छ ।

null

बढ्दो पर्यटकीय चापसँगै हिमालमा फोहोर थुप्रिएका छन् । यसले हिमाललाई असर गरेको छ । प्रकृतिको नजिक हुन मान्छे पर्वतारोही बनेको भनाइ राख्छन्, जोन । 

‘यो खेल होइन, अग्ला हिमाल आरोहण गर्दा मान्छेबाट टाढा रहिन्छ । प्रकृतिसँग नजिक भएको महसुस गर्छौं । यो नम्बरका लागि वा फेमस हुनका लागि होइन,’ उनले भने । 

उनले नेपाल मात्र होइन, अन्य कैयन देशका हिमालको सफल आरोहण गरेका छन् ।

आरोहणका क्षेत्रमा स्थापित नाम रहेका जोनले बनाएको वृत्तचित्र एक वर्षका लागि पोखरा संग्रहालयमा आउँदैछ ।

सय वर्ष पुराना तस्वीर भने पर्वतीय संग्रहालयमा नै रहने छन् । यसले हिमालको इतिहास देखाइरहने जोनले बताए । ‘पुरानो इतिहास बिर्सनुको अर्थ हो, त्यही गल्ती दोहोर्‍याउनु,’ उनले भने । 

विगतका गल्ती नदोहोर्‍याउन पनि यसले झक्झक्याउने तर्क उनले गरे ।

salt training

कमेन्ट गर्नुहोस्