
युरोपेली सङ्घ (ईयू)को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ ।
निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिएका विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गरेका हुन् ।
मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखे पनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ ।
अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने, 'हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।'
७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।
ईयूको अर्को संसद र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।