
आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । बुधबार बिहान नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले २० रनको योगदान गरे । उनले केवल आठ बलमा एक छक्का र तीन चौका हिर्काए ।
यस्तै ट्रेभिस हेडले १७ बलमा ३४ र मिचेल मार्सले ९ बलमा १८ रनको योगदान गरे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रन बनाउँदै अल आउट भएको थियो । नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए ।
ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए ।