
नेकपा एमालेबाट प्रमुख गुट टुक्रिएर नेकपा एकीकृत समाजवादी बनेको ३ वर्ष बित्न लाग्दा अध्यक्ष केपी शर्मा ओलीको छाताभित्र गुट–उपगुटका अभ्यास हुन थालेका छन् ।
७२ वर्ष पुगेका ओलीले अझै २० वर्ष सक्रिय राजनीति गर्ने बताउँदै आएका छन् । यही पृष्ठभूमिमा जारी एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष ओलीकै छाताभित्र गुट–उपगुटको प्रतिस्पर्धा भइरहेको हो । ओलीलाई दबाब या तनाव दिने गरि कोही अगाडि बढेका छैनन्, तर ओलीपछि पार्टीको विरासत आफूतिर तान्न नेताहरूले भरपूर प्रयत्न गरिरहेको देखिन्छ ।
हालसम्म ६६ जिल्लाको अधिवेशन सकिएको छ, जसमध्ये २० भन्दा बढी जिल्लामा प्रतिस्पर्धाबाट अध्यक्षसहितका पदाधिकारी चयन भएका छन् ।
यस्ता प्रतिस्पर्धा जिल्लाका नेताको तहमा मात्रै सीमित छैनन् । ओलीकै छाताभित्र गुट–उपगुट बनाएर प्रतिस्पर्धा भएको छ ।
सहमतिबाटै नेतृत्व चयन भएका जिल्लामा पनि नेताहरूले आफ्नो प्रभावअनुसार नेतृत्वमा सहमति जुटाएको एमालेका एक प्रभावशाली नेता बताउँछन् ।
‘माधव नेपाल समूहले पार्टी विभाजन गरेपछि एमालेभित्र समूहका नाममा २ लाइन वा ३ लाइनको गुटगत अभ्यास छैन । तर, अध्यक्षकै छाताभित्र नेता विशेषले व्यक्तिगतरूपमा गुटगत अभ्यास गर्नुभएको छ,’ तीन नेताले भने, ‘प्रदेश अधिवेशनमा यस्तो प्रतिस्पर्धा अलिअलि देखिएको थियो । अहिले धमाधम भइरहेका जिल्ला अधिवेशनमा अध्यक्षकै लाइनभित्र गुटगत प्रतिस्पर्धा भएको छ ।’
मुख्यगरि देशैभर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा भएको नेताहरू बताउँछन् ।
‘पार्टी केन्द्रले नै लाइन दिएर नेता विशेषलाई प्रतिस्पर्धा गराउन पठाएको छैन । तर, अध्यक्ष ओलीकै विश्वासपात्रद्वय उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले गुटगट अभ्यास जिल्लासम्मै गर्नुभएको छ,’ ती नेता भन्छन्, ‘प्रदेशअनुसार त्यहाँ रहनुभएका नेताले उहाँहरूकै लाइनमा जिल्लामा उम्मेदवार उठाउने गरेको पनि देखिएको छ ।’
उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवै लुम्बिनीका हुन् । तर, जिल्ला अधिवेशनमा यी दुई नेताको प्रतिस्पर्धा लुम्बिनीमा मात्रै सीमित नभएको नेताहरूको दाबी छ । आफ्नो अनुकूल हुने प्रदेश र जिल्लामा नेतामार्फत दुवैले आ–आफ्ना गुट सक्रिय गराएका छन् ।
बर्दिया, कपिलवस्तु र बाँकेमा महासचिव पोखरेल पक्षका अध्यक्षका उम्मेदवारलाई उपाध्यक्ष पौडेल पक्षले पराजित गरेको थियो । आफ्नै जिल्ला दाङमा आफू निकटका आकांक्षी पराजित हुने भएपछि महासचिव पोखरेलले बहिनीज्वाइँ शिवकुमार आचार्यलाई अध्यक्ष बनाएका थिए ।
लुम्बिनीका पश्चिम नवलपरासी र रुकुम पूर्वमा सर्वसम्मतिबाट पोखरेलनिकटका नेता अध्यक्षमा चयन भए । पाल्पा र रोल्पामा भने उपाध्यक्ष पौडेलनिकटका नेता अध्यक्षमा सर्वसम्मत भएका छन् ।
एमालेमा अध्यक्ष ओलीको भावी उत्तराधिकारी को बन्ला भन्ने चर्चा छ । यही चर्चाका बीच पौडेल र पोखरेलले आफ्नो दाबेदारी बढाएका छन् । तलसम्मै आफ्नो प्रभाव बढाउन दुवै नेताले जिल्ला अधिवेशनलाई प्रयोग गरिरहेको एक नेता बताउँछन् ।
महासचिव पोखरेल खुलेरै जिल्ला दौडाहामा लागेका छन् । तर, उपाध्यक्ष विष्णु पौडेलले आफैं जिल्ला नपुगे पनि आफूनिकटका नेतालाई प्रतिस्पर्धामा उतारेका छन् ।
‘एमालेमा पहिलेजस्तो देखिनेगरि असन्तुष्टि वा फरक मत छैन । तर, उनकै विश्वासपात्रहरू भावी उत्तराधिकारी बन्न प्रतिस्पर्धामा छन्,’ एक नेताले भने, ‘शंकर पोखरेलप्रति पार्टीमा असन्तुष्टि देखिन्छ । सोही कारण पनि उपाध्यक्ष पौडेलले ओलीपछि आफू नै नेतृत्वमा पुग्ने गरि जिल्लासम्मै नेताहरू परिचालन गरिरहेको देख्न सकिन्छ ।’
लुम्बिनीकै गुल्मीमा भने उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टका उम्मेदवार प्रतिस्पर्धा गर्ने स्थितिमा छन् । लुम्बिनी मात्रै होइन, गण्डकीमा पनि पौडेल र पोखरेलको लाइनबाटै पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी पक्षधर नेता प्रतिस्पर्धामा उत्रिएका थिए ।
तनहुँ र गोरखा अध्यक्षमा गुरुङ पक्षका नेता विजयी भएका छन् । गुरुङलाई केन्द्रबाट उपाध्यक्ष विष्णु पौडेलको पनि साथ छ । कास्कीमा स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकटका नेता विजयी भएका थिए । धादिङ एमालेमा ओलीकै विश्वासपात्र नेताबीच तनाव भएको थियो । तनावपछि स्थगित भएर पुनः भएको निर्वाचनबाट अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका थिए ।
रामकुमार अधिकारीलाई बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको समर्थन थियो । यो पक्ष केन्द्रमा ओलीनिकटको हार्डलाइनर पोखरेलसँग नजिक छ । नुवाकोट अध्यक्ष बद्री मैनाली र काठमाडौं अध्यक्ष दीपक निरौला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकटका हुन् ।
यीबाहेक कालिकोट, महोत्तरी, बाजुरा, धनकुटा, जुम्ला, कैलाली, महोत्तरी, लमजुङ, सुर्खेत, भोजपुर, सिन्धुपाल्चोक, खोटाङ, अछाम, चितवन, प्युठान र सिन्धुलीमा निर्वाचनबाट जिल्ला अध्यक्ष चुनिएका छन् ।

काभ्रेमा उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भुर्तेलले प्यानल बनाएरै प्रतिस्पर्धा गरेका थिए । नेता गोकुल बाँस्कोटानिकट भुर्तेलको प्यानल नै विजयी भयो ।
बुधवार राति आएको नतिजाअनुसार अध्यक्षमा भुर्तेल, उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा विजयी भएका छन् ।
उपाध्यक्षमा रत्नकुश रञ्जितकार र सूर्यमाया दनुवार निर्वाचित भए ।
काभ्रे मात्रै होइन, बाँस्कोटा अनुकूलका अध्यक्ष र पदाधिकारी सिन्धुपाल्चोकदेखि भक्तपुरसम्मै निर्वाचित भएको नेताहरू दाबी गर्छन् ।
बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, भक्तपुरसहितका जिल्लामा गोकुलले आफ्नो प्रभाव थप बलियो बनाउँदै लगेका छन् ।
भक्तपुरमा शंकर पोखरेल र महेश बस्नेतविरोधी लाइनले जित्न पुगेको छ ।
कहिलेसम्म सकिन्छ अधिवेशन ?
एमाले संगठन विभाग सचिव माधव ढुंगेलले ६६ जिल्लाको अधिवेशन सकिएको जानकारी दिए । रुपन्देही, काभ्रे र गुल्मीमा अधिवेशन भइरहेको छ ।
कोशीका इलाम, मोरङ र तेह्रथुममा अधिवेशन तोक्न बाँकी छ । मधेशका सप्तरी, सिरहा र धनुषा, गण्डकीको मनाङ, कर्णालीको डोल्पा तथा सुदूरपश्चिमका डोटी, अछाम र बझाङमा पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।
जेठ मसान्तसम्म अधिवेशन गर्न समय दिइएको भन्दै ढुंगेलले बाँकीको हकमा बढीमा भदौसम्ममा सकाउने तयारी भएको जानकारी दिए ।
‘अहिलेसम्म ६५ जिल्लाको अधिवेशन सकिएको छ । तीन जिल्लाको अधिवेशन हुने क्रममा छ,’ ढुंगेलले भने, ‘हामीले जेठ मसान्तसम्मको समय दिएका हौं । अब बाँकीको हकमा २०८१ सालको सदस्यता नवीकरण गरेर साउन–भदौसम्म अधिवेशन सम्पन्न गर्छौं ।’