
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहबीच भेटवार्ता भएको छ ।
बिहीवार भएको भेटवार्ताका सांसद पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्तावका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै भेटमा काठमाडौं क्षेत्र नम्बर ५ को विषय, आगामी आर्थिक वर्षका लागि तय हुने महानगरको नीति, कार्यक्रम तथा बजेटबारे पनि छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
साथै चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा सरकारले भए पनि यसको निर्माण समयमा नै सक्नु पर्नेजस्ता विषयमा समेत दुईबीच छलफल भएको थियो ।
पौडेलले बुधवार प्रतिनिधिसभामा लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने सरकार स्वयंले चक्रपथको कलंकी–धोबीखोला खण्ड तत्कालै निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी भेटमा पौडेल र बालेनबीच टुकुचा, सामाखुसी खोला, धन्यन्तरी खहरेखोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पौडेल काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य हुन् ।