२१ असार २०८३, आइतबार
मनसुनको प्रभाव

पश्चिम नेपालमा उखरमाउलो गर्मीले उकुसमुकुस, सुदूरपूर्वमा बाढीपहिरोले विनाश

जेठ ३२, २०८१
विराटनगर
पश्चिम नेपालमा उखरमाउलो गर्मीले उकुसमुकुस, सुदूरपूर्वमा बाढीपहिरोले विनाश

नेपालको मध्य तथा पश्चिम तराईमा उखरमाउलो गर्मी छ । मध्ये-पश्चिम नेपालको तराई क्षेत्रमा मात्रै होइन काठमाडौं उपत्यकामा समेत गर्मी बढेको छ ।

मध्ये-पश्चिम नेपालको गर्मी अझै कम्तिमा तीन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिनमार्फत् देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।

पश्चिम नेपालमा गर्मीले सताइरहँदा पूर्वी नेपालको अवस्था भने फरक छ । मनसुन सक्रिय रहँदा सुदूरपूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ ।

सुदूरपूर्वमा वर्षासँगै बाढीपहिरो शुरू भएको छ । मनसुनको सुरुवातमै पूर्वी पहाडका संखुवासभा र ताप्लेजुङमा बाढीपहिरो शुरू भएको हो ।

पहिरोमा परेर बिहीबार राति मात्रै ताप्लेजुङमा एकै घरमा चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको परिवारका चार जनाको मृत्यु भए प्रहरीले जनाएको छ । पहिरोमा उनका बुवा, आमा र दुई बहिनीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ–२ खेजिनिममा रहेको लिम्बूको घरमाथिबाट राति १ बजेतिर पहिरो खसेको थियो । 

पहिरोमा लिम्बूका बुबा ७१ वर्षीय रामबहादुर साम्रा, आमा जसमाया र जुम्ल्याहा छोरी बहिनीहरू ९ वर्षीया गंगा र जमुनाको मृत्यु भएको उनले बताए । राति सुतिरहेकै बेला पहिरो खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् । ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएको उनले बताए । 

ताप्लेजुङमा पहिरोमा पुरिएका यसअघि नै एक व्यक्तिको ज्यान गइसकेको छ । बिहीबार सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङमा काबेली तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर २५ वर्षीय सबिन राईको मृत्यु भएको थियो ।

पहिरोले दुइवटा घरसमेत बगाएको प्रहरीले जनाएको छ ।

बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । 

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, लगातारको वर्षाका कारण संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न क्षेत्रमा पहिरोले तीन घर बगाएको छ भने २५ परिवार विस्थापित भएका छन् ।

त्यस्तै, संखुवासभामा पहिरोले चार घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारी– ११ सिम्लेमा पहिरोले चार घर बगाएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन कुमार तिम्सिनाले बताए । उनका अनुसार वर्षाका कारण चिचिला गाउँपालिका जोड्ने तीन ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

बुधबार रातभरको वर्षाका कारण ताप्लेजुङको तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाका विभिन्न पाँच ठाउँमा रहेका काठेपुल (गाडी गुड्ने काठका पुल) बाढीले बगाएको प्रहरीले जनाएको छ । यातायात सेवा अवरुद्ध बनेको छ ।

 

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्