
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारमा बन्दै गरेको नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाउन ध्यानाकर्षण गराएका छन् । संसद् भवनमा बार बनाउनु पर्यटकीय हिसाबले महत्वपूर्ण हुने उनले दाबी गरे ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेश गर्दै कांग्रेस सांसद बजगाईंले विदेशी पाहुना आउँदा सोसलाइजेसनका लागि बार बनाउनेतर्फ सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

अमेरिकाको सिनेट र बेलायतको विश्वविद्यालयको क्यान्टिनमा मदिरा पिउने बार रहेको दाबीसहित उनले संसद् भवनमा बार राख्न प्रस्ताव गरेका हुन् ।
‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा, सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिक्स गर्न पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न, लण्डर स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद बजगाईंले भने, ‘सम्माननीय सभामुख महोदय बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउदा सोसेलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु ? यो पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।’
सांसद बजगाई पर्यटन व्यवसायी हुन् । प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित बजगाईंले काठमाडौंमा होटल सञ्चालन गर्छन् ।