
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरूले भाग लिएका थिए ।
छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयन योग्य हुनुपर्ने बताएका थिए ।
सरकारका काम कारबाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गरे ।
छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताए ।
नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवस नछुटाइएको उल्लेख गर्दै उनले चालू वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राखे ।
पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उनले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको जानकारी दिए ।