
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरिने दाबी गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा पत्र बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका हुन् ।
‘रवि लामिछानेजीले शुरूमा नै हामी त्यस्तै हौ भनेर भन्नुहुन्थ्यो । आफ्नो पहिचानको लागि पनि राजीनामा पत्र गोजीमा राखेर हिँडेका छौं भन्नुपर्ने उहाँहरूलाई आवश्यकता होला,’ रास्वपाका मन्त्रीले राजीनामा दिन लागेका हुन् भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘तर मैले बुझेको त्यस्तो केही पनि छैन ।’
रास्वपाका नेता एवं खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा समीक्षा गर्नुपर्ने विषय गठबन्धन दलबीच नै उठेको बताएका थिए ।
आफ्नै मन्त्रीले बोलेपछि प्रधानमन्त्री यस्तो प्रतिक्रिया दिन बाध्य भएका हुन् ।
पछिल्लो समय बजेटका विषयमा एमाले पनि प्रधानमन्त्रीसँग असन्तुष्ट रहँदै आएको छ ।
एमाले र रास्वपाका नेताले प्रधानमन्त्रीप्रति असन्तुष्टि व्यक्त गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।