
भारतीय राष्ट्रिय कांग्रेसकी नेत्री प्रियंका गान्धी लोकसभाका निम्ति पहिलोपटक चुनाव लड्ने भएकी छन् । उनका भाइ राहुल गान्धीले छोडेको वायनाड क्षेत्रबाट उनी चुनाव लड्ने भएकी हुन् ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा राहुल केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेली सिटबाट विजयी भएका थिए । उनले वायनाडको क्षेत्र छोडेका छन् । उक्त क्षेत्रबाट प्रियंका चुनाव लड्न लागेको बीबीसी हिन्दीले जनाएको छ ।
प्रियंकाले वायनाडमा राहुलको अभाव हुन नदिने बताएकी छन् । 'म वायनाडको प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी हुनेछु। म वायनाडका जनतालाई राहुल गान्धीको अभाव हुन दिनेछैन,' उनले भनिन्, 'राहुल गान्धीले भनेका छन् कि उनी वायनाड आइरहनेछन्। म पनि सबैलाई खुसी राख्न कडा मेहनत गर्नेछु।'
भाजपाका नेताहरूले भने कांग्रेसले वंशजको राजनीति गरेको फेरि पुष्टि भएको भन्दै आलोचना गरेका छन् ।
प्रियंका गान्धीलाई २०१९ लोकसभा चुनावअघि कांग्रेसको महासचिव नियुक्त गरिएको थियो । राहुल गान्धी केरलाको वायनाड सिटबाट २०१९ मा पहिलोपटक लोकसभा सांसद चुनिएका थिए ।