
आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रिय सभा सदस्यहरूले जोड दिएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले घरभाडा समयानुकूल बनाउनुपर्ने लगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरूको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाए ।
'कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उहाँहरूलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ,' उनले भने, 'कर्मचारीहरूको तलब बृद्धि हुन सकेन, तलब बृद्धि गर्न सकेमा उहाँहरूलाई थप हौसला मिल्ने छ ।'
सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विष्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए ।
हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत रु तीन हजार पाँच सय प्राप्त गर्दै आएका छन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना रु तीन हजार आवास भत्ता तोकिएको छ ।
आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ ।
सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने उनीहरूको माग छ ।