१९ असार २०८३, शुक्रबार

परिवर्तित मौसम अनुकूल हुने गरी कृषिको विकासमा जोड

असार ४, २०८१
चितवन
परिवर्तित मौसम अनुकूल हुने गरी कृषिको विकासमा जोड

चितवनमा आयोजित कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तन  अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।  

कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान प्रसार निर्देशनालयले आज आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिए ।
‘इन्टरनेसनल कन्फ्रेन्स अन इकोलोजिकल इम्प्याक्ट अन एग्रिकल्चर, बिजनेस एण्ड टेक्नोलोजी’ विषयक गोष्ठीमा सहभागीले हिउँ पग्लिँदै जाँदा भूक्षय र पानीको अभावजस्ता समस्या बढ्दै गएको भन्दै यससँग जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले भने, “हिमाल पग्लिँदै जानु, भूक्षय हुनुजस्ता कारणले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ । नेपालका जलविद्युत् हिमालबाट बगेका नदीहरुमा निर्भर रहेकाले त्यसको असर विद्युत् उत्पादन हुँदै अर्थतन्त्रमा पर्ने छ ।”

डा अधिकारीले विश्वविद्यालयले यस्ता समस्याबारे अध्ययन अनुसन्धान गरेर समाधानको बाटो पहिल्याउनु पर्ने आवश्यकता औँल्याए । 
 
त्यसअवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले प्रकृति र विज्ञानमा आधारित भएर विकास गतिविधि अघि बढ्नुपर्ने बताए । नेपालको शिक्षा नीतिमा परिवर्तन गरेर ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक र ‘भोकेसनल’ शिक्षा दिने बनाउनुपर्ने उनको भनाइ छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) का उपकुलपति प्रा डा पुष्यप्रसाद रेग्मीले विश्वविद्यालयका विद्यार्थीलाई थप अनुसन्धानका लागि सहयोगको खाँचो औँल्याए । कार्यक्रममा एएफयु सेवा आयोगका अध्यक्ष प्रा डा कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, डा गणेशराज जोशी, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटालगायतले सम्बोधन गरेका थिए ।
 
यसैगरी एएफयुका डिनद्वय अर्जुन श्रेष्ठ, होमबहादुर बस्नेत र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डा रामहरि तिमिल्सिना, महात्मा गान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा डा डिपी राईलगायतले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।
 
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीको सहभातिा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्