
अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियासहित २ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।
विशेष अदालत काठमाडौंबाट भएको फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसला चित्त नबुझी असार ५ गते बुधबार सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो ।
जाँच अवधिमा प्रतिवादी थपलियाको वैधानिक आय २ करोड ४३ लाख ८३ हजार १२१ रुपैयाँ ६६ पैसा र खर्च एवं लगानी १ करोड ९९ लाख ९८ हजार ३३९ रुपैयाँ ३६ पैसा देखिएको थियो ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।
तर विशेषले उक्त मुद्दामा थपलिया र मुना पन्त थपलियालाई सफाइ दिएको थियो ।
विशेषको उक्त फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।