
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट खारेज गरिदिएको सर्वोच्चका सहप्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए । अदालतको आदेशसँगै खनाल फेरि हार्न पुगेका छन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ ।
देशभर एकलाख ४६ हजार सात सय १४ सङ्गठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
००००
सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो ।
००००
धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत बुधवार पनि प्रस्तुतीकरणमा ३ जना अनुपस्थित भएका छन् । तर अब प्रक्रिया नरोकिकन उपस्थितबाटै योग्य आवेदक छान्ने प्रक्रिया अघि बढेको जनाइएको छ ।
हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं संगठितरूपमै दोस्रोपटक पनि अनुपस्थित भएका थिए ।
००००
पशुपतिको भेटी चोरी प्रकरणमा संग्लग्न भएको आरोप लागेर पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ ।
काठमाडौं जिल्ला अदालतले बुधबार ६ मध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशव थेबेले जानकारी दिए ।
००००
संघीय संसद् सचिवालयका कर्मचारीहरूको फरक शैलीको आन्दोलनका कारण बुधबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
कोभिडकालदेखि रोकिएको भत्ता पुनस् पाउनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरूले सांकेतिक विरोध गरेपछि प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
संसद्को नियमित काम कारबाही चलिरहेका बेला प्रत्यक्ष प्रशारणमा सभामुख देवराज घिमिरेलाई मात्र देखाइएको थियो । कर्मचारीको आन्दोलनकै कारण बुधबार मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नको जवाफ दिने कार्यक्रम प्रभावित भयो ।
००००
मेलम्ची खानेपानी विकास समितिले शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको समितिले जनाएको छ ।
००००
तीन वर्षअघि प्रहरी जवानमा भर्ती भएका दोलखाको मेलुङ गाउँपालिका– ४ का २२ वर्षीय अजित गोलेले अन्ततः कठिन बाटोबाट मृत्यु रोजे ।
बुधबार बिहान संघीय संसद् भवनमा ड्युटीका क्रममा शौचालयमा मृत फेला परेका गोलेको आत्महत्याका पछाडि एक युवतीको प्रसंग जोडिएको पाइएको छ ।
आफ्नै निधारमा इन्सास राइफल प्रहार गरी आत्महत्या गरेका गोलेसँग दुई दिनअघि सोमबार मात्रै युवतीसँग फेसबूक म्यासेन्जरमा लामो गफ भएको तथ्य प्रहरीले फेला पारेको छ ।
२०७८ मा प्रहरी जवानमा भर्ना भएका गोलेको पछिल्लो दरबन्दी कपनस्थित प्रहरीको केन्द्रीय विशेष कार्यदलमा थियो । उनी गत जेठ २८ जेठदेखि मात्रै संघीय संसद भवनमा कार्यरत थिए । ड्युटीका क्रममा गोलेले आफ्ना साथीहरूसँग पारिवारिक तनावमा रहेको सुनाएका थिए । तर, आत्महत्याकै संकेत भने गरेका थिएनन् ।
पाँच महिनाअघि मेलुङकै एक युवतीसँग विवाहका लागि ‘टीकाटालो’ भएको थियो । युवतीले आफू काम गर्न दुबई जाने र पैसा कमाएपछि जीवन सहज चल्ने बताएपछि गोलेले सञ्चय कोषबाट एक लाख रुपैयाँ झिकेका थिए । थप ५० हजार आमासँग मागेर डेढ लाख तयार पारी राहदानी समेत बनाइदिएर युवतीलाई दुबई पठाए ।
युवती दुबई पुगेपछि केही साता गोलेसँग निरन्तर सम्पर्कमा थिइन् । बीचमा युवतीसँग फोन सम्पर्क कम हुन थालेपछि गोले तनावमा थिए । उनले युवतीलाई थुप्रै म्यासेज पठाएको देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ती युवतीलै अर्कै पुरुषसँग सम्बन्ध गाँसेको आशंका गोलेलाई भएको देखिन्छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उनको म्यासेजबाट त्यसको पुष्टि हुन्छ ।
‘अब तिमीलाई त्यही केटा भए पुगिहाल्यो नि, मलाई किन सम्पर्क गर्नु ? म मरेपछि तिमी खुशी हुन्छौ होला,’ उनको म्यासेज उद्धृत गर्दै ती अधिकृतले भने ।
फेसबूक म्यासेन्जरमा गोलेले निरन्तर म्यासेज पठाए पनि युवतीको जवाफ भने कमै आउने गरेको प्रहरीले जनाएको छ ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधवार नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।
बुधवार तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता शेयर ४८ हजार सात सय ६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ ।
००००
नेपाली कांग्रेसले संसदीय दल र यसको कार्यसमितिको बैठक बोलाएको छ ।
बजेटसहितका विषयमा छलफल गर्न कांग्रेसले आगामी शुक्रबार २ बजे दलको कार्यसमिति र ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।
००००
कवाड व्यवसायीमाथि काठमाडौंमा बल प्रयोग भएको भन्दै सांसदहरूले आपति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरू अमेरेशकुमार सिंह र प्रभु साहले यस्तो माग गरेका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी बुधबार बिहान उनी कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् ।
राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए।
००००
किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् ।
आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरूले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।
सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रनुपरेको बताए ।
००००
नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले १५ सयमध्ये ३ सय योजना आफू र आफ्नी श्रीमती जुलीकुमारी महतोको क्षेत्रमा पारेको दाबी गरेका छन् ।
बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै घिमिरेले यस्तो दाबी गरेका हुन् ।
००००
गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन् ।
आफूहरूले इङ्गेजमेन्ट गरेको महेश र अस्मिता आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।