२५ असार २०८३, बिहीबार

पुटिनको उत्तर कोरिया भ्रमण : दुनियाँबाट अलग रहेका किममा परिपक्वता आएको हो ?

असार ६, २०८१
काठमाडौं
पुटिनको उत्तर कोरिया भ्रमण : दुनियाँबाट अलग रहेका किममा परिपक्वता आएको हो ?
Photo AFP Via RSS

पछिल्ला केही वर्षमा देखिएका दुई अन्तर्राष्ट्रिय संकटले उत्तर कोरियाली नेता किम जोङ उनको नेतृत्वशैली र निर्णयलाई प्रभावित पारेको छ । पहिलो संकट कोभिड-१९ थियो भने दोस्रो संकट रुस-युक्रेन युद्ध, जुन अहिले पनि जारी छ ।

यी दुवै संकटले उत्तर कोरियाको विचारधारामा ठूलो परिवर्तन ल्याएको छ र प्योङयाङको कूटनीतिक निर्णय लिने मानकहरू परिवर्तन भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालसालै गरेको प्योङयाङ भ्रमणलाई उत्तर कोरियामा आएको परिवर्तनको अभिव्यक्ति मान्न सकिन्छ । पुटिनको भ्रमणले रूस र उत्तर कोरियाबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउने सम्भावना छ ।

२०२४ को जनवरीको शुरूमै उत्तर कोरियाली नेता किमले दक्षिण कोरियालाई विदेशी शत्रु घोषणा गरेका थिए । शान्तिपूर्ण पुनर्मिलन खोजिरहेका कोरियाली प्रायद्विपका जनता किमको यो घोषणाबाट दु:खी थिए ।

लामो समयदेखि शान्तिपूर्ण पुनर्मिलनको नीति लिएको उत्तर कोरिया किम सत्तामा आएसँगै परिवर्तन भएको छ । पुनर्मिलनको आशा सकिएको छ ।

प्योङयाङले अन्तर-कोरियाली नीतिमा गरेको परिवर्तन उत्तर कोरियाका लागि केही हदसम्म व्यावहारिक देखिन्छन् । किम परिवारको शासन रहेको देख्न चाहने दक्षिण कोरियालीले अब जनविद्रोह गर्लान् भन्ने आशा समाप्त भएको छ ।

किमले पनि दक्षिण कोरिया समाजवादी क्रान्तिका लागि उपयुक्त भूमि होइन भन्ने कुरा स्वीकारेका छन् ।

सबैभन्दा धेरै वैचारिक वफादारीलाई जोड दिने वंशानुगत शासनमा देखिएका यी परिवर्तनहरूले भविष्यमा उत्तर कोरियाले विश्व व्यवस्थामा कस्तो रणनीति अपनाउनेछ भन्ने कुराको खुलासा गर्छन् ।

प्योङयाङले गरेको पछिल्लो संकेतले मस्को र बेइजिङबीचको समानता कायम राख्ने आधारभूत सिद्धान्तहरूमा उत्तर कोरिया फर्किने देखाएको छ ।

उत्तर कोरियालाई एक शक्तिशाली विश्वव्यापी खेलाडीको रूपमा स्थापित गर्नका लागि पछिल्ला ३० वर्षमा अपनाइएको कूटनीतिलाई खारेज गर्ने दिशामा किम छन् भन्दा फरक नपर्ला ।

विश्वका क्षेत्रमा देखिएको नयाँ द्वन्द्वलाई अवसरका रूपमा लिँदै किमले आफ्नो देशमा भएको स्रोतमध्ये थोरै मात्र हतियार विकासमा लगाउने नीति बनाएका छन् ।

देशको अधिकांश स्रोत उत्तर कोरियाको विकास र अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा प्रयोग गर्न खोजेका किमलाई अमेरिका र पश्चिमले स्वागत गर्न आवश्यक छ ।

किमलाई प्राय: मीम वा हाँसोको पात्रको रूपमा चित्रण गरिन्छ । तर, पछिल्लो समय उनमा आएको परिपक्वता र परिवर्तनले उनी विकास गर्न सक्षम छन् भन्ने देखाएको छ । यससँगै किमले आफ्नो रणनीतिक सोच पनि परिवर्तन गर्न सक्छन् भन्ने पुष्टि भएको छ ।

तर, दुर्भाग्यवश उत्तर कोरियालक्षित अमेरिकी नीतिले त्यहाँ आएको परिवर्तनजस्तै समान लचिलोपन वा कुनै रणनीतिक परिवर्तन वृद्धि देखाएको छैन ।

चीनको वुहानमा कोभिड–१९ को प्रकोप फैलिएपछि उत्तर कोरियाली सरकारले कडारूपमा सीमा नाका बन्द गरेको थियो । विश्वव्यापी महामारीको समयमा प्योङयाङले आफ्नो देशलाई विश्वबाट अलग राख्यो ।

यसरी आफूलाई अलग राख्दा उत्तर कोरियाको अर्थतन्त्र ध्वस्त भएन बरू आत्मनिर्भर हुन पुग्यो । यसले पनि किमलाई उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको दिनदेखिका सिद्धान्त र मूल्य कायम राख्न सहयोग गर्‍यो ।

अप्रिल २०२० मा उत्तर कोरियाको वर्कर्स पार्टी नेतृत्वले आत्मनिर्भर अर्थतन्त्र देशको सबैभन्दा ठूलो शक्ति रहेको भन्दै त्यही कार्यदिशा पास गरेको थियो ।

एकातिर कोभिड-१९ मा उत्तर कोरियाको मुख्य सहयोगी चीनले अन्तर्राष्ट्रिय संकटको कमजोर व्यवस्थापन गरेको खुलासा भएको छ । यसले उत्तर कोरियाली राजनैतिक कुलीन वर्गका लागि ठूलो जैविक खतरा पनि खडा गर्‍यो ।

मोटोपनको शिकार र भारि धुम्रपान गर्ने किम कोभिड– १९ को संकटमा आफ्नो स्वास्थ्यका लागि पनि गम्भीर देखिन्थे ।

अर्कातर्फ महामारीको समयमा किमले आफूलाई विश्वबाट अलग्याएपछि राष्ट्रिय अर्थतन्त्रमा अन्तर्राष्ट्रिय प्रतिबन्धले केही असर गर्दैन भन्ने पुष्टि भयो ।  

महामारी उत्तर कोरियामा दक्षिण कोरियाली नाटक र चलचित्रहरूलाई रोक्न राम्रो अवसर पनि साबित भयो । दक्षिणी जनता र संस्कृतिसँग पूर्णरूपमा सम्बन्ध तोड्नु भनेको शासनको वैचारिक वैधतालाई जोगाउनु हो भन्ने किमले राम्रोसँग बुझे ।

कोभिडसँगै रूसले युक्रेनमा गरेको आक्रमण उत्तर कोरियाली नेतृत्वका लागि आशीर्वाद भएको छ । यसले आणविक खतराको सामना गर्ने क्रममा अन्तर्राष्ट्रिय समुदाय कमजोर रहेको उत्तर कोरियाको बुझाइ छ ।

सँगै, सबैभन्दा महत्त्वपूर्ण कुरा बेइजिङमा प्योङयाङको राजनीतिक-आर्थिक निर्भरता घटाउन पनि युद्ध सहायकसिद्ध रहेको किमले बुझेका छन् । रुसी सेना आर्टिलरी गोला र छोटो दूरीको ब्यालिस्टिक मिसाइल चाहन्छ, जसको आपूर्ति गर्न उत्तर कोरिया तयार रहेको जस्तो देखिन्छ ।

रुसी रक्षा उद्योग विश्वव्यापी कालोसूचीमा परेका बेला रुसले उत्तर कोरियाबाट धेरै आवश्यक हतियार र गोलाबारुद प्राप्त गर्न सक्छ । उत्तर कोरियाली हतियारहरूका लागि रुसले डलरमै पनि भुक्तानी गर्नुपर्ने छैन ।

पुटिन र किमबीच भएको सैन्य सम्झौताले उत्तर कोरिया थप फाइदामा हुनेछ । उत्तर कोरियाली सैन्य जनरलहरूले २१औं शताब्दीको युद्धभूमिमा आफ्ना हतियारहरूले कसरी काम गर्छन् भनेर देख्न सक्छन् ।

कोरियाली प्रायद्वीपमा अचानक सैन्य द्वन्द्व शुरू भएमा शासनको रणनीतिक क्याल्कुलसमा परिवर्तन ल्याउन सक्छ ।

उत्तर कोरियाबारे अमेरिकाले दशकौंसम्म पनि आफ्नो नीति परिवर्तन गरेको छैन । अमेरिकाले युक्रेनलाई सैन्य र राजनीतिक रूपमा पूर्ण समर्थनको प्रस्ताव गरेको छ भने अझै पनि उत्तर कोरियालाई ब्याकबर्नरमा राख्न सक्दो प्रयास गरिरहेको छ ।

द डिप्लोम्याटका लागि बेन्जामिन योङयोङ सुक लीले गरेको संयुक्त विश्लेषणलाई लोकान्तरका लागि ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्