११ साउन २०८३, सोमबार

विषाक्त मदिरा पिउँदा भारतमा ३४ जनाको ज्यान गयो, १०० भन्दा बढी अस्पताल भर्ना

असार ६, २०८१
काठमाडौं
विषाक्त मदिरा पिउँदा भारतमा ३४ जनाको ज्यान गयो, १०० भन्दा बढी अस्पताल भर्ना
सांकेतिक तस्वीर ।

मुम्बई–भारतमा विषाक्त अवैध मदिरा (रक्सी)को सेवनबाट कम्तीमा ३४ जनाको ज्यान जानका साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । 

स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री एमके स्टालिनलाई उद्धृत गरी पीटीआईले जनाएको छ । 

घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको मुख्यमन्त्री स्टालिनले बताए । अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानूनी कारबाही हुने उनले बताएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मदीराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन् ।

तामिलनाडुका राज्यपालले सामाजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरे ।  

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०२२ ताका गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्