
विश्व नेताहरू, स्वास्थ्य समूहहरू र औषधि कम्पनीहरूले बिहीबार शिखर सम्मेलनमा अफ्रिकामा खोपहरू उत्पादन गर्न एक अर्ब २० करोड डलरको कोष घोषणा गरेका छन् । अफ्रिकाले बढ्दो हैजाको प्रकोपसहित विभिन्न स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेरिस शिखर सम्मेलनको उद्घाटनमा भने, “अफ्रिकी खोप उत्पादन उत्प्रेरक वास्तविक अफ्रिकी खोप बजारको दिशामा आवश्यक कदम हुनेछ ।”
उक्त कोषको तीन चौथाई हिस्सा युरोबबाट आउने भन्दै म्याक्रोनले बताए । सम्मेलनमा बोत्स्वाना, रुवान्डा, सेनेगल र घानाका नेताहरूका साथै मन्त्रीहरू, स्वास्थ्य समूह र औषधि कम्पनीहरूले भाग लिएका छन् ।
जर्मन चान्सलर ओलाफ सोल्सले भिडियो सन्देशमा जर्मनी यो योजामा ३१ करोड ९० लाख डलर योगदान गर्ने जानकारी दिए ।
फ्रान्सले १० करोड डलर र बेलायतले छ करोड डलर लगानी गरेका छन् भने अन्य दाताहरूमा अमेरिका, क्यानाडा, नर्वे, जापान र गेट्स फाउन्डेसन रहेका छन् ।
कोभिड–१९ महामारीले खोपहरूको विश्वव्यापी असमान वितरणमाथि प्रकाश पारेको छ । कोभिड–१९ महामारीको समयमा ठूलो औषधि कम्पनीहरू भएका धनी मुलुकहरूले अधिकांश खुराक खोसेका थिए । यसबाट अफ्रिका अत्यन्त पछाडि परेको थियो ।
नयाँ योजनाको उद्देश्य अफ्रिकालाई थप सार्वभौम प्रदान गर्नका लागि खोपको उत्पादलाई अफ्रिकामा स्थानान्तरण गर्नु हो र इतिहास दोहोरिनबाट बचाउनु हो ।
हालै अफ्रिकाका धेरै भागमा हैजाको पुनरुत्थानले धेरै स्थानीय खोप उत्पादकहरूको आवश्यकतालाई दर्शाएको छ । विश्वमा एउटै मात्र कम्पनी दक्षिण कोरियाको युबायोलजिक्सले घातक बिमारीका लागि सस्तो र प्रभावकारी खोपको खुराक बनाउँछ ।