
आइसीसी टी-२० विश्वकपअन्तर्गत सुपर-८ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ । बिहीबार राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे ।
भारतका लागि अर्शदीप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए । कुलदीप यादवले २ तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २८ बलमा सर्वाधिक ५३ रन बनाए । हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडे ।
ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए । अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिए ।