
२०२४ संस्करणको कोपा अमेरिकामा साविक विजेता अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ । एटलान्टामा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले हराएको हो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लौतारो मार्टिनेजले १-१ गोल गरे ।
खेलको ४९औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । यस्तै, ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो । मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।
अर्जेन्टिना रहेको समूह ए मा क्यानडासहित पेरू र चिली रहेका छन् । अर्जेन्टिनाको दोस्रो खेल बुधवार बिहान चिलीविरुद्ध हुनेछ ।
प्रतियोगितामा दक्षिण अमेरिका, उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका गरी १६ टोलीले सहभागिता जनाउने छन् ।
सामान्यतया कोपा अमेरिकामा दक्षिण अमेरिकी १० राष्ट्र र बढीमा २ आमन्त्रित टोली प्रतिस्पर्धा गर्ने गर्थे । तर यो वर्षदेखि उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका ६ टोलीलाई पनि समावेश गरिएको हो ।
हरेक ४ वर्षमा हुने तय गरिएको प्रतियोगिता सन् २०२० मा कोरोना भाइरस महामारीका कारण हुन सकेन । त्यसको सट्टा २०२१ मा खेलाइएको थियो । प्रतियोगितामा घरेलु टोली ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो ।