
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तारुढ गठबन्धनमा राजदूतको भागबण्डाबारे मोटामोटी सहमति जुटेको छ । बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भएको बैठकमा राजदूतबारे मोटामोटी सहमति जुटेको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार विभिन्न देशमा राजदूतको रिक्त अवस्थालाई प्रधानमन्त्रीले छिट्टै पूर्ति गर्न लागेकाले बिहीबार छलफल भएको हो ।
जसअनुसार सबैभन्दा धेरै एमालेले बढीमा ८ देशको राजदूत पाउने भएको छ । यस्तै रास्वपाले २ तथा माओवादीले एक देशको राजदूत पाउने गरी सहमति जुटेको छ । तर एकीकृत समाजवादीले समेत राजदूतमा दाबि गरेकाले यसमा केही घटबढ हुन सक्ने बताइएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१÷८२ सालको बजेट बनाउँदा मन्त्रीहरूले आफ्नो निर्देशन नै नटेरेको दुखेसो गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद तोसिमा कार्कीको १ लाखसम्मको योजना पनि किन राखियो भन्ने प्रश्नमा प्रधानमन्त्रीले आफू नै निरीह बन्नुपरेको बताएका हुन् ।
‘बजेट तर्जुमा प्रणालीमा निरन्तर सुधारको लागि सरकार प्रतिवद्ध छ । बजेट चाहेजस्तो अझै हुन सकेन । हामीले प्रयास गर्नुपर्ने हुन्छ । मान्य मन्त्रीज्यूहरूले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारको, प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो त्यो भएन,’ प्रधानमन्त्रीले दुखेसो पोख्दै भने, ‘निर्देशन दिँदा दिँदै पनि साना योजना राखिएको छ । भोलि तपाईंहरू पनि मन्त्री हुनुहुन्छ अरु पनि प्रधानमन्त्री हुनुहुन्छ । यसकारण यो विषय परिमार्जन आवश्यक छ ।’
००००
बिहीबारनै संसदमा भएको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीलाई १० सांसदले २१ प्रश्न सोधेका थिए । सो क्रममा प्रधानमन्त्रीले परराष्ट्र सेवाबाट गएका राजदूतलाई फिर्ता बोलाउने सरकारको नीति नभएको बताए ।
‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षता र कार्यसम्पादनमा आधारित रहेर गर्न यो सरकार प्रतिवद्ध छ,’ प्रचण्डले भने, ‘परराष्ट्र सेवाबाट गएका कोही पनि राजदूतलाई फिर्ता बोलाउने नीति सरकारको छैन ।’
राजनीतिक नियुक्तिबाट गएका राजदूतलाई मात्रै फिर्ता बोलाउने अभ्यास भएको उनले बताए ।
००००
नेपाली सेनाको कर्णेलको हवाला दिएर संगीता रायमाझी नाम गरेकी महिलाले प्रहरीको बर्दी च्यातेकी छिन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पार्किङको विषयलाई लिएर रायमाझी र प्रहरी सहायक हवल्दार रचना थापाबीच भनाभन भएको थियो ।
त्यही क्रममा रायमाझीले ‘बढ्ता हुन्छेस्, म कर्णेलको साली हुँ, तलाईं देखाइदिन्छु पख’ भन्दै हातपातमा उत्रिएकी थिइन् । रायमाझी अहिले प्रहरी हिरासतमा छिन् ।
००००
सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ ।
सङ्घले बिहीबार एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।
००००
कोशी प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को आर्थिक विधेयकमाथिको छलफल सकिएको छ ।
कोशी प्रदेशसभा नियमावली बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो विधेयक सदनमा पेश गरेका थिए ।
००००
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त प्राधिकरण गठन गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । सहकारीका क्षेत्रमा व्याप्त समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए ।
००००
लागुऔषध कोकिन कारोबारमा संलग्न चार विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले चार किलो ५०४ ग्राम कोकिनसहित उनीहरूलाई बुधवार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भेनेजुलियन नागरिक सिमोन एन्टोनियो अल्फोन्जो राडा, बोलिभियन नागरिक लाउरा क्रुज टिकोना, तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगा र भारतीय नागरिक लालरुआतसांगी रहेको ब्युरोका प्रमुख एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
००००
प्रदेश सांसदको पद जानेगरी आफूमाथि गरिएको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । सांसद पद पुनर्बहालीको माग गर्दै उनले बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
गण्डकीको प्रदेशसभा सदस्यबाट आफूलाई सभामुखले गरेको कारबाही बदर गराइ पाऊँ भन्दै देवकोटाले सर्वोच्चमा रिट दर्ता गराएको अदालत स्रोतले जनाएको छ ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए ।