
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसद्को चालू अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन् ।
मन्त्रालयको नेतृत्व लिएपछि भए/गरेका मुख्य उपलब्धिबारे आज जानकारी दिँदै मन्त्री जोशीले यस्तो बताएका हुन् ।
तीनै तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रूपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनीभूत तुल्याइएको उनको भनाइ छ ।
निजामती विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले राजनीतिक दलबीच गहन छलफल गरी चालू अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।
सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, 'तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।'
उनले विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय तहलाई बलियो तुल्याउन शासकीय क्षमता पूर्वाधार निर्माण र संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन दस्तावेज तयार भएको पनि जानकारी दिए ।