
बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन् ।
पछिल्लो समय ग्रामीण सडक धमाधम कालोपत्र भइरहेको सन्दर्भमा बागलुङका तीन ठूला राजमार्ग भने वर्षोंदेखि कालोपत्र हुन नसकेका हुन् । बागलुङमा अहिले सञ्चालनमा रहेका ग्रामीण सडक कालोपत्र गर्ने आयोजना धमाधम सम्पन्न हुने चरणमा आए पनि २०७२ सालमा कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग भने अझै धुलाम्मे छ ।
गण्डकी प्रदेश सरकार अन्तरगतका चार सडक सम्पन्नताको चरणमा पुगेका छन् भने एक अलपत्र अवस्थामा छ । गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका–४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक अहिले सम्पन्न भइसकेका छन् ।
तर राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि घोडाबाँधे सम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन नसकेको हो । ग्रामीण सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भइसकेको छ भने गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र भइसकेका छन् । राङ्खानी–बरेङ सडकसमेत कालोपत्रको अन्तिम चरणमा रहेको छ । पछिल्लो तीन महिनायता मात्रै ग्रामीण ४० किमि ग्रामीण सडक कालोपत्र भइसकेको छ ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडकसमेत धमाधम कालोपत्र भइसक्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुखद रहेको बताए ।