
गोरखा, ५ कात्तिक– वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखाको निर्वाचन क्षेत्र नम्बर दुईमा उम्मेदवारी दर्ता गर्न श्रेष्ठ बाजागाजासहित पुगेका थिए । उनी त्यहाँ नेपाली कांग्रेस र नयाँ शक्तिका संयुक्त उम्मेदवार बाबुरामभट्टराई विरुद्ध लड्दै छन् ।
एकै पार्टीमा काम गरेका श्रेष्ठ र भट्टराई फरक फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जसलाई रोचक चुनावी भिडन्तको रुपमा हेरिएको छ ।
पहिलो र दोस्रो दुईवटै संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवारको रुपमा बाबुरामले गोरखामा जित निकालेका थिए । तर उनी अहिले नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् ।
स्थानीय तहमा नयाँ शक्तिले गोरखामा कुनै उपस्थिति जनाउन सकेको थिएन । ११ स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ९ स्थानीय तहमा जीत निकालेको थियो भने माओवादी केन्द्रले तीन स्थानीय तहमा जीत निकालेको थियो ।