
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब ३० मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ छ ।
मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
मङ्गलबार उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।
“मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ”, डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।