०२ असार २०८३, मंगलबार

भारत लान लागिएको ६५ किलो गाँजा बरामद, बोक्न प्रयोग भएको कार पनि नियन्त्रणमा

असार ११, २०८१
विराटनगर
भारत लान लागिएको ६५ किलो गाँजा बरामद, बोक्न प्रयोग भएको कार पनि नियन्त्रणमा

तस्करी गरेर भारत लान लागिएको ६५ किलोग्राम गाँजा विराटनगरबाट बरामद भएको छ । उक्त गाँजा बोक्न प्रयोग भएको कार र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।  

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) भुटहाले नेपाल–भारत सीमा क्षेत्रबाट बा १६च६०५४ नम्बरको रातो रंगको कार नियन्त्रणमा लिएको हो । कारमा गाँजा लोड गरेको पाइएको प्रहरीले जनाएको छ । 

दुईवटा बोरामा हालेर कारमा लोड गरिएको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका एसपी विश्वबन्धु खड्काले मंगलवार जानकारी दिए । 

उनका अनुसार सोमवार राति विराटनगर १८ दमादिगी बस्तीबाट गाँजा बरामद गरिएको हो । 

बरामद गरिएको गाँजा र सवारीसाधन थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यसअघि पनि बीओपी भुटहाले तस्करीको ठूलो परिमाणको गाँजा बरामद गरेको थियो । 

केही दिनअगाडि पनि भारत तस्करी हुन लागेको १७६ किलो गाँजा जहदा गाउँपालिका २ बाट  बरामद भएको थियो । 

तस्करी गरेर भारत पुर्याउनकै लागि धनकुटालगायत पहाडी जिल्लाहरूबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । 

सीमावर्ती क्षेत्रनजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छलेर सीमानाका हुँदै भारत लगिने गरिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्