
नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ । नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ । यो सडकखण्ड ३६ किलोमिटर लामो छ ।
पौडेलले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिए । थप उपकरण आवश्यक परेमा हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट प्रबन्ध गरिने उनले बताए ।
सो सडकखण्डमा १५ वटा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पुल बनाइरहेको ठाउँमा पहिरो खसेमा पन्छाउने जनाएको छ । ती ठाउँमा ठूलो पहिरो खसेमा डिभिजन सडक कार्यालयका उपकरणसमेत प्रयोग गरिने छ । अन्य ठाउँमा खसेका पहिरो पन्छाउन सो कम्पनीले तयारी अवस्थामा राखेका उपकरणलाई प्रयोगमा ल्याइने छ ।