२५ जेठ २०८३, सोमबार
जिम्मेवार पदाधिकारीको प्रतिवेदनले नयाँ भनिएको दलमा हलचल

रास्वपाको ओरालो यात्रा रोक्न महामन्त्रीका अनेकौं सुझावः बालेनसँग मिल्नुपर्छ, संघीयता काम छैन

असार १२, २०८१
काठमाडौं
रास्वपाको ओरालो यात्रा रोक्न महामन्त्रीका अनेकौं सुझावः बालेनसँग मिल्नुपर्छ, संघीयता काम छैन

गत निर्वाचनमा परम्परागत दलविरुद्ध आक्रोश व्यक्त गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि जिम्मेवार पदाधिकारीको हैसियत सम्हालिरहेका महामन्त्री डा मुकुल ढकालले नै गम्भीर प्रश्न उठाएका छन् । रास्वपा स्थापनादेखि नै सभापति रवि लामिछानेको दरिलो खम्बा हुँदै महामन्त्री र प्रवक्ता भएका ढकालले नै पार्टीको वर्तमान र भविष्यप्रति गम्भीर सवाल उठाएका हुन् । 

स्थापनाको छोटो समयमै रास्वपाले २१ सिट जितेर तहल्का मच्चाए पनि सत्ता र शक्तिले पार्टी चाँडै उँधोगतिमा लागेको भन्दै उनले सच्चिनलाई उनले नेतृत्वलाई चेतावनी दिएका छन् । 

इलाम २ को उपनिर्वाचनपछि गत जेठ ६ देखि असार ५ गतेसम्म देशका ३९ जिल्ला घुमेर महामन्त्री ढकालले प्रतिवेदन तयार गरेर सभापति लामिछानेलाई बुझाए । जसमा पार्टी छोटो समयमै बिग्रँदै गएकोमा चिन्ता प्रकट गरिएको छ । 

शुरूमै २१ सिट जितेर हौसिएको रास्वपाले २०८४ मा एकल बहुमत ल्याएर सरकार चलाउने दाबी गर्न छोडेको छैन । तर जिम्मेवार पदाधिकारी ढकालले यस्तै ताल रहिरहे पार्टी चुनावमा एक–दुई सिटमा सीमित हुने र विवेकशील नेपाली दल (पछि विवेकशील साझा)को जस्तै हालत हुने गम्भीर टिप्पणी गरेका छन् । 

‘वर्तमानमा रास्वपासँग जनमत छैन । जति जनमत छ, यसैका आधारमा आज नै चुनावमा जाने हो भने हामीलाई राष्ट्रिय पार्टी बन्न पनि हम्मेहम्मे पर्ला । प्रत्यक्षमा एक–दुई सिट जितिएला,’ ढकालले प्रतिवेदनमा गम्भीर सवाल उठाउँदै लेखेका छन्, ‘हामी भोलिका दिनमा पनि आजैको स्थितिअनुसार अगाडि बढे हाम्रो पार्टीको हालत विवेकशीलजस्तो हुनेछ ।’

पार्टी सञ्चालनको शैली, लिएका नीति, कार्यक्रम र योजनालाई जनताले नरुचाएको ढकालको प्रतिवेदनको आशय देखिन्छ । सत्तामा पटकपटक आशक्ति देखाएको तर काम गर्न नसकेको, नागरिकता, पासपोर्टपछि सहकारी ठगीमा ठगीमा सभापति लामिछानेकै नाम आएपछि पछिल्लो समय रास्वपा आलोचित हुँदै आएको छ । 

बाहिर आलोचना र विरोध हुनका बीच पार्टीका जिम्मेवार नेताले झन् गम्भीर सवाल उठाउँदै यात्रा ओरालोतिरै केन्द्रित रहेको बताएका हुन् । स्थापनाको दुई वर्षमै यत्ति आलोचित हुनुले गम्भीरता थपेको ढकालको प्रतिवेदनमा आशय छ । 

अहिले एमाले र माओवादी सत्तामा मिल्दा रास्वपाको ओरालो यात्रामा झनै मलजल पुगेको ढकालको ठहर छ । 

ढकालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिल्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्दा ठीक हुने सुझाव आएको प्रतिवेदनमा उल्लेख गरेका छन् । जसले रास्वपाले सत्ताको लागि मरिहत्ते गरेको विषयमा नागरिकको स्तरमा विरोध भएको उनको प्रष्ट संकेत छ । 

‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो । बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि आफैँको भनाइअनुसार उनी राजनीतिमा छैनन् । उनी स्थानीय तहका प्रमुख हुन् । उनको विचारमा यो गैरराजनीतिक पद हो,’ ढकालले भनेका छन् । 

आफूहरूभन्दा अगाडि नै काठमाडौंमा चुनावबाट स्थापित भएका बालेनप्रति क्रेज बढेको तर रास्वपाप्रति आक्रोश थपिएको उनको प्रतिवेदनको सार छ । 

एमाले र माओवादीसँग मिल्दा उनीहरूले झन् खेल्ने भन्दै ढकालले बालेनदेखि गोपी हमालसँग मिल्ने विषयलाई खुला राख्नुपर्ने मत अगाडि सारेका छन् । 

‘बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ,’ उनले भनेका छन्, ‘यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन् । तर माहोल अहिलेबाटै बनाउन जरुरी छ ।’

पटकपटक सत्तामा जाने तर कामभन्दा बढी विवादमा फस्ने भएपछि बालेनजत्तिको क्रेज पनि रास्वपाप्रति नभएको उनको प्रतिवेदनको सार देखिन्छ । 

उनी आफैँले पनि लोकान्तरसँग कुरा गर्दै देशका धेरै कार्यकर्तासँग भेटेपछि गम्भीर सवाल उठाएको बताए । 

‘इलामको उपनिर्वाचनपछि पार्टीबाटै जिम्मा पाएर देशभर कार्यकर्ता भेटघाटपछि प्रतिवेदन तयार पारेर आज सभापतिलाई बुझाउँदै छु,’ ढकालले लोकान्तरसँग भने, ‘१०  पृष्ठको प्रतिवेदन तयार गरेको छु । यसमा पार्टीका समस्या के छन् समाधान कसरी गर्न सकिन्छ भनेर थुप्रै कुरा सुझाएको छु ।’

इलाममा उपनिर्वाचनदेखि नै महामन्त्री ढकाल पार्टीले लिएको नीतिसँग असन्तुष्ट रहँदै आएका थिए । पार्टीको यस्तै संगठन, रवैया र स्थितिले उपनिर्वाचन जित्न नसकिने जानकारी पार्टीलाई गराएका थिए । तर पार्टीले उम्मेदवार चयनदेखि नागरिकलाई आश्वस्त पार्न नसक्दा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत नै जफत हुन पुगेको थियो । 

यसैले अर्को चुनावमा सनसनी नै मच्चाउने आकलन गरिए पनि भूगोलमा बुझाइ र स्थिति त्यस्तो नभएकोमा ढकालले चिन्ता व्यक्त गरेका छन् । 

‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन्,’ उनले लेखेका छन्, ‘तर पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ ।’

पछिल्लो समय पार्टीले सत्तामा देखाएको आशक्ति, सभापति रवि लामिछानेका एकपछि अर्को विवादका धेरै नेता कार्यकर्ता आजित भएका छन् । कुनै समय लामिछानेका विश्वासपात्र नेता भए पनि पछिल्लो समय ढकालले विद्रोही कुरा गर्न थालेका छन् । जसले सभापतिसँग उनको दूरी बढेको छनक देखिन्छ । प्रतिवेदनमै पनि उनले यो कुराको संकेत गरेका छन् । 

रास्वपाबाट आफूलाई घोक्र्याएर निकाल्न सक्ने भएपनि पार्टीकै जीवनका लागि आफूले यस्तो लेख्ने जोखिम उठाएको उनको भनाइ छ ।  

‘भोलि दुर्घटना हुँदैछ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनका लागि यो घातक साबित हुनेछ,’ ढकालले रास्वपाका आफ्नो निरन्तरता नहुने आशयमा लेखेका छन्, ‘तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मनभित्र गुन्जियो– म मरे पनि मेरो पार्टी बाँचिरहोस् ।’

रास्वपा सैद्धान्तिक रुपमा पनि अस्पष्ट रहँदै आएको आरोप लाग्ने गर्छ । गत निर्वाचनमा प्रदेशसभा निर्वाचनमा उसले भाग नै लिएन । प्रदेशका विषयमा ढकालले यो जनताको माग नभएको भन्दै खारेजीको माग अगाडि सारेर जानुपर्ने बताएका छन् । 

‘प्रदेश सरकार जनताको माग र चाहना केही पनि होइन । राजनीतिक दलका नेता–कार्यकर्ताको व्यवस्थापनभन्दा अर्को उपलब्धि प्रदेश सरकारबाट केही पनि भएको छैन । जनतालाई सुशासन दिनु प्रमुख दायित्व हो,’ उनले भनेका छन्, ‘प्रदेश संरचनापछि प्रशासन सुधार होइन, झन्–झन् अस्तव्यस्त बनिरहेको छ । तसर्थ इन्तु, किन्तु, परन्तु केही नभी प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनुपर्छ ।’

ढकालले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जानुपर्ने मत अगाडि सारेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्