
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
भाटभटेनी सुपरमार्केटले युवाहरुलाई पार्ट टाइम काम दिने भएको छ । आगामी आर्थिक वर्षको सुरुवातदेखि नै २ हजार जना युवालाई काममा लगाउने गरी सुपरमार्केटले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।
भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ)पानु पौडेलले कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले पहिलो लटमा २ हजार कर्मचारी भर्ना गर्ने सुपरमार्केटको योजना रहेको सुनाए । आगामी दिनमा यो संख्या बढाउँदै लगिने उनको भनाइ छ ।
००००
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी स्थायी शिक्षकको जागिर खाएको आरोप लागेका भीमकुमार डीसी दोषी ठहर भएका छन् ।
उनलाई विशेष अदालतले बुधवार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवानासमेत तोकेको छ ।
दाङको गोलटाकुरीस्थित प्राथमिक विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत रहेका डीसीले नक्कली प्रमाणपत्र पेश गरी स्थायी शिक्षकको जागिर खाएको अदालतले फैसला सुनाएको हो ।
००००
गत निर्वाचनमा परम्परागत दलविरुद्ध आक्रोश व्यक्त गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि जिम्मेवार पदाधिकारीको हैसियत सम्हालिरहेका महामन्त्री डा मुकुल ढकालले नै गम्भीर प्रश्न उठाएका छन् । रास्वपा स्थापनादेखि नै सभापति रवि लामिछानेको दरिलो खम्बा हुँदै महामन्त्री र प्रवक्ता भएका ढकालले नै पार्टीको वर्तमान र भविष्यप्रति गम्भीर सवाल उठाएका हुन् ।
स्थापनाको छोटो समयमै रास्वपाले २१ सिट जितेर तहल्का मच्चाए पनि सत्ता र शक्तिले पार्टी चाँडै उँधोगतिमा लागेको भन्दै उनले सच्चिनलाई उनले नेतृत्वलाई चेतावनी दिएका छन् ।
इलाम २ को उपनिर्वाचनपछि गत जेठ ६ देखि असार ५ गतेसम्म देशका ३९ जिल्ला घुमेर महामन्त्री ढकालले प्रतिवेदन तयार गरेर सभापति लामिछानेलाई बुझाए । जसमा पार्टी छोटो समयमै बिग्रँदै गएकोमा चिन्ता प्रकट गरिएको छ ।
शुरूमै २१ सिट जितेर हौसिएको रास्वपाले २०८४ मा एकल बहुमत ल्याएर सरकार चलाउने दाबी गर्न छोडेको छैन । तर जिम्मेवार पदाधिकारी ढकालले यस्तै ताल रहिरहे पार्टी चुनावमा एक–दुई सिटमा सीमित हुने र विवेकशील नेपाली दल (पछि विवेकशील साझा)को जस्तै हालत हुने गम्भीर टिप्पणी गरेका छन् । ढकालले बुधबार सभापति रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएका छन् ।
००००
प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ ।
यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच मिलेर अगाडि बढ्ने समझदारी भएको छ ।
पार्टीको महाधिवेशन नजिकिएका बेला बुधबार खनाल र भुसालबीच मिलेर अगाडि बढ्ने समझदारी भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
‘उहाँहरूबीचको भेटघाटमा मिलेर अगाडि बढ्ने समझदारी भएको छ । औपचारिक रूपमा दुई जना मिलेर अगाडि बढ्ने समझदारी भएको छ,’ भट्टराईले भने, ‘तर औपचारिक रुपमा अध्यक्षमा को उठ्ने भनेर अन्तिम समझदारी भइसकेको छैन ।’
००००
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको दाबी गरिएको गोरखा मिडियासहित ९ वटा सहकारीको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
समितिका सभापति सूर्य थापाले कार्यादेशको अनुसूची २ मा समावेश भएका ९ सहकारी र गोरखा मिडियामा प्रवाह भएका रकमको कागजात मगाएको जानकारी दिए ।
‘कार्यादेशको अनुसूची २ मा समावेश ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतमा प्रवाह भएको रकम सम्बन्धका विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गर्ने’ बैठकपछि थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन् ।
००००
कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन आग्रह गरेको छ ।
यस वर्ष ६ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिसमा उजुरी दिन विभागले आग्रह गरेको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
००००
मनसुनसँगै भएको वर्षपछिको बाढी, पहिरोका साथै चट्याङबाट बुधबार १५ जनाको मृत्यु भएको छ । कास्की, लमजुङ, मोरङ, कैलाली, ओखलढुंगागायतका जिल्लामा उक्त मानवीय क्षति भएको हो ।