
सेन्चुरी कमर्सियल बैंकले नक्कली कर चुक्ता प्रमाण पत्रकै आधारमा २ अर्ब ३० करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको पाइएको छ । बैंकका कर्मचारी र पदाधिकारीको मिलेमतोमा थाहा हुँदाहुँदै पनि कर्जा प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुईपटक गरेर पक्राउ परेका १९ जनालाई तारेखमा छाडेर विस्तृत अनुसन्धान थालेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईं यो प्रकरणका मुख्य आरोपी हुन् । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।
शुरूमा सीआईबीले अनुसन्धान गर्दा कमसल धितोमा ऋण प्रवाह गरेको भनिए पनि सत्यता अर्कै देखियो ।
पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिका सञ्चालक समेत रहेका चौलागाईंले एक अर्ब मूल्य बराबर पर्ने जग्गा धितो राखेर नातेदारका नाममा २ अर्ब ३० करोड ८१ लाख रुपैयाँ ऋण प्रवाह गरेको सीआईबीले जनाएको छ ।
सीआईबीले फागुन १५ गते यी कम्पनीमा कार्यरत कामदारहरू ललितपुर कुपन्डोलका मनोज न्यौपाने, बालाजु गोंगबु बस्ने राजेश भण्डारी, कोटेश्वरका दिलिप बराल, नयाँ बानेश्वरका रमन श्रेष्ठ, कमलादीका सुवासबहादुर श्रेष्ठ, ललितपुर बखुन्डोल बस्ने अनुपम श्रेष्ठ मानन्धर, ललितपुरको गोदावरीका सविन घिमिरे, पुल्चोकका दीपेश प्रधान, झापाका तुलसी गौतम र काभ्रे पनौतीका सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरूको बयान लिएर गत चैत १ गते तारेखमा छाड्यो । उनीहरूकै बयानका आधारमा सीआईबीले गत जेठ २८ गते सेन्चुरी बैंकका वर्तमान अध्यक्ष ललितपुर झम्सिखेलका राजेशकुमार श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरू क्रमशः कपनका सुनिलकुमार न्यौपाने, ललितपुर झम्सिखेलका प्रा.डा. गीता प्रधान, बत्तिसपुतलीका रमेशकुमार निरौला, भोजपुर दलगाउँ घर भई काठमाडौं बस्ने रमणबहादुर श्रेष्ठ, ललितपुर धोबिघाटका राजेशकुमार दुली, टोखा पासिकोटका उमाकुमारी श्रेष्ठ, सुनसरीका अभिषेक बज्राचार्य र ललितपुर महालक्ष्मी नगरपालिका टीकाथली बस्ने शिव गोपाल रिसाललाई पक्राउ गर्यो । पाँच दिन हिरासतमा राखेर बयान लिएपछि उनीहरूलाई गत जेठ ३० गते नै तारेखमा छाडियो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार बैंकको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पक्राउ गरेपछि राष्ट्र बैंकका प्राविधिक टोलीसहित बसेर अध्ययन गर्दा सेन्चुरीका तत्कालीन अध्यक्ष चौलागाईंले अडिट रिपोर्टमा आन्तरिक राजस्व कार्यालयबाट प्राप्त हुने कर चुक्ता प्रमाणपत्र नै नक्कली पेश गरेको पाइयो ।
‘राष्ट्र बैंकलाई बुझाएको अडिट रिपोर्ट नै नक्कली बुझाएको देखियो,’ एसपी बोगटीले लोकान्तरसँग भने, ‘सेन्चुरीका बोर्ड सदस्यहरूले कागजपत्र भेरिफाई नगरी कुनै कर्जा प्रवाह गरेको देखिन्छ ।’
सीआईबीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । चौलागाईंले नै आफ्ना कम्पनीका कर्मचारीलाई गुमराहमा राखेर आफू सञ्चालक समितिको अध्यक्ष भएको सेन्चुरीबाट ऋण प्रवाहका लागि मार्गप्रशस्त गरेको सीआईबीले जनाएको छ ।
‘पहिलो कुरा कमसल धितोमा ऋण प्रवाह गरियो । दोस्रो राष्ट्र बैंकलाई बुझाउनुपर्ने कर चुक्ता प्रमाणपत्र नक्कली बनाइयो,’ बोगटीले भने, ‘अनुसन्धानको दायरामा आएका व्यक्तिहरूको कसुरअनुसारको मागदाबी लिएर मुद्दा दर्ताका लागि प्रतिवेदन बुझाउने तयारीमा छौं ।’