
मोरङका सामुदायिक विद्यालयहरूमा अध्ययन गरेका कुनै विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जीपीए ल्याउन नसकेको पाइएको छ ।
निजी विद्यालयका आठ जना चार जीपीए ल्याएर उतीर्ण हुँदा सामुदायिक विद्यालयहरूले भने यो उपलब्धि हासिल गर्न सकेनन् ।
विराटनगरको एभरेस्ट इङ्लिस स्कूलका तीन जनाले चार जीपीए ल्याएका छन् । सो विद्यालयले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको शिक्षा समन्वय इकाई मोरङले जनाएको छ ।
यस्तै पथरीको रेड स्टार स्कूलबाट दुई जनाले चार जीपीए ल्याएर उतीर्ण गरेका छन् ।
यसैगरी विराटनगरका सगरमाथा, बूढानीलकण्ठ र पशुपति आवासीय माविका एक–एक जनाले चार जीपीए ल्याएका छन् ।
एसईई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो । सो परीक्षामा मोरङबाट १७ हजार २७७ जना विद्यार्थी सहभागी भएका थिए ।
त्यसमध्ये नौ हजार २१७ जना उतीर्ण भएका छन् । जम्मा ५३.३५ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा समन्वय इकाईले जनाएको छ ।