
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले संगठन विभागको सदस्य सचिवको समेत जिम्मेवारी पाएका छन् ।
राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख धवल शम्सेर राणाले विहीबार लावतीलाई संगठन विभाग, सदस्य सविचको पदमा मनोनयन गरेका हुन् ।
यसैबीच राप्रपाको संगठन विभागले काठमाडौं उपत्यकाभित्र रणनीतिक रुपमा संगठन विस्तार गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाडौं उत्पयकाभित्रका महानगरपालिका, नगरपालिका र गाउँपालिका तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।
विभाग प्रमुख राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न ठकले संगठनकेन्द्रीत अभियान असार १९ गते आरम्भ गर्ने निर्णय लिएको छ ।
प्रवक्ता एवं संगठन विभागका सदस्य सचिव लावतीका अनुसार, पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न हुने उक्त रणनीतिक भेलामा राप्रपाका बागमती प्रदेश संयोजक, बागमती प्रदेश समिति अध्यक्ष, उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रतिधिनिसभा तथा प्रदेश सभाका माननीयहरु, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरु, क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा अध्यक्षहरु, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा सविचहरुको सहभागिता रहनेछ ।
उक्त रणनीतिक भेलापश्चात वडा तहसम्मको सक्रिय सहभागिता कायम राखी उपत्यकाभित्रका सबै महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा प्रभावकारी रुपमा कार्यक्रमहरु सम्पन्न गरिनेछ । यस क्रममा पार्टी संगठनका बृहत्त आयाम र लक्ष्यहरु केन्द्रमा राखिनेछ ।