२९ जेठ २०८३, शुक्रबार

समय आएपछि दासढुंगा र दरबार हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ : केपी ओली

असार १४, २०८१
काठमाडौं
समय आएपछि दासढुंगा र दरबार हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ : केपी ओली
फाइल तस्वीर

म मदन भण्डारीलाई एक असाधारण व्यक्तिकारूपमा स्मरण गर्ने गर्दछु । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत् हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ । वैचारिकरूपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रूपमा मैले उहाँलाई लिन्छु । मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो ।

तर दुःखद् कुरा उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो । नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन ।​

विसं २०४४ मा म जेलबाट छुटेका बेला उहाँसँग पहिलो भेट भएको थियो । त्यसपछि संसदीय राजनीतिक मोर्चामा मैले मदन भण्डारीसँग भेटघाटको अवसर पाएँ । उहाँ पोखराको कार्यक्रममा निस्कनुअघि म सांसदहरूको टोली लिएर कैलालीको धनगढी जाने तयारीमा थिएँ ।

कहिलेकाहीँ एउटा अवधिको छोटो भेटले पनि जिन्दगीभर ठूलो प्रभाव पार्दो रहेछ ।

जननेता मदन भण्डारी र मेरो पहिलो भेटमा पनि हामी साझा विचारमा रहेर जोडिएका थियौँ । हामीबीच अलमलिएको विचार होइन, सङ्लिएको विचार थियो । उहाँ पनि विचारमा सुस्पष्ट हुनुहुन्थ्यो । त्यही विचारका साथ यात्रामा सँगै अगाडि बढ्ने कुराभयो । उहाँको दुःखद् निधन भयो । म बाँचिरहेको छु र मैले हाम्रा साझा र महान उद्देश्यलाई अगाडि बढाइरहेको छु । उहाँका स्पष्ट विचारलाई हामीले अघि बढाइरहेका छौँ ।

जबजभित्रै सबै अटाउँछन्

मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नुभएको हो । जबजको आवश्यकता र सान्दर्भिकता थियो त्यतिबेला र उहाँले यसको विश्लेषण, संश्लेशण गरेर ल्याउनुभएको थियो । त्यसैले जबजको ध्येय नै जनताको मन जितेर कम्युनिष्ट शक्तिलाई राज्य सञ्चालनको शक्तिमा लाने र जनताका आकाङ्क्षा पूरा गर्ने भन्ने हो । जबजभित्रै सबै अटाउँछन् । त्यसमा एमाले सुस्पष्ट छ नै । यही विचार मान्ने हो भने यहाँ साना र टुक्रे कम्युनिष्ट नामका कुनै पनि पार्टीको केही आवश्यकता पनि छैन ।

संसारमा परिवर्तन हुने कुराहरूमा मात्र परिवर्तन हुने हो ।

बुद्धले शान्तिको विचार दिए । त्यस समय संसारलाई त्यही आवश्यक थियो र त उनले त्यो विचार दिएका थिए । अहिले त्यसलाई संशोधन गरेर शान्तिको सन्देश आवश्यक छैन, अब यसमा हिंसाको सन्देश राख्नुपर्छ भन्ने हुन्छ र ? अनि उनले त्यस समयका लागि अत्यावश्यक ठानेर ल्याएको त्यो विचार नै अहिले आवश्यक रहेन त्यसमा संशोधन गरौँ, अब हिंसाको या अर्को कुनै पनि विषयको कुरा राखौँ भनेर कसैले भन्छ भने त्यो सान्दर्भिक भयो र ? अनि त्यस्तो विचार राख्नु जडसूत्रवादी हुन जान्छ भन्ने ? बुद्धका समयमा उनले समयको आवाज र मागलाई सुनेर शान्तिका लागि काम गरौँ भन्ने सन्देश दिए । उनको मृत्युपछि शिष्यहरूले शान्तिका विचारलाई अध्ययन गरे र त्यो सन्देश लिएर समाजमा हिँडे । आज पनि शान्ति आवश्यक छ, त्यसकारण बुद्धवादको सान्दर्भिकता छ । भोलि शान्तिका पक्षमा हरेक व्यक्ति पुगेमा शान्ति शान्ति भनिरहन आवश्यक पर्दैन ।

नेपाली समाजको शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समृद्धि हासिल गर्ने काम सकेपछि जबजको औचित्य आफैँ सकिन्छ । अहिले त्यो काम पूरा नभएकाले जबजको औचित्य अझ बढी आवश्यक रहेको छ ।

दासढुङ्गा दुर्घटना

जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे । स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्न शक्तिमा रहेकाहरूले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन ।

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा छ भन्ने लाग्छ । तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन । छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ । अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ । तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन । दासढुङ्गा घटनामा गाडी नदीमा पुग्छ, नेताहरू डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ ।

हामीले अनेक बाधा र व्यवधानबीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन । पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन ।

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरूलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।

(मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग राससका एकराज पाठक र प्रकाश सिलवालले गरेको कुराकानीको सम्पादित अंशः)  

 

 

salt training

कमेन्ट गर्नुहोस्