
काठमाडौंमा लुटपाट गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँ बस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका- ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुलीको कमलामाई नगरपालिका- १२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेका थिए । उनीहरू दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भीख माग्ने बहाना बनाएर पीडितको घरमा आएका देवु र जेलिना ती महिलाले कानमा लगाएको सुनको रिङ लुटेर भागेका थिए ।
घटनाको जानकारीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।