०२ असार २०८३, मंगलबार
कांग्रेसमा बदलिँदो समीकरण

भत्किँदै कांग्रेसका परम्परागत गुट : देउवाका सारथि छिन्नभिन्न, शेखर–गगन पनि छुट्ने !

असार १४, २०८१
काठमाडौं
भत्किँदै कांग्रेसका परम्परागत गुट : देउवाका सारथि छिन्नभिन्न, शेखर–गगन पनि छुट्ने !

नेपाली कांग्रेसको १५ औं महाधिवेशनसम्म पुग्दा पार्टीका परम्परागत गुटहरू विघटन हुने देखिएको छ । १५ औं महाधिवेशनको सम्भावित समीकरणले कांग्रेसमा वर्षौंदेखि अभ्यासमा रहेका ‘देउवा’ र ‘कोइराला’ गुट छिन्नभिन्न हुने देखिएको हो ।

शेरबहादुर देउवा २०७८ मंसिर २९ गते सभापतिमा दोस्रोपटक निर्वाचित भएका थिए । अब कांग्रेसको विधानअनुसार देउवा सभापतिमा उठ्न पाउने छैनन् । देउवाको अनिवार्य अवकाशको परिणामस्वरूप परम्परागत गुट छिन्नभिन्न हुने र नयाँ ध्रुवीकरणको स्थिति आउने देखिएको हो ।

विधानतः नियमित ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ । यस्तोमा १५ औं महाधिवेशन २०८२ मंसिरभित्रै गरिसक्नुपर्छ । त्यस हिसाबले आगामी वैशाखबाटै कांग्रेस महाधिवेशनको वर्षमा प्रवेश गर्नेछ । विधानले दिएको १ वर्ष र संविधानबमोजिम विशेष कारण देखाउँदै अर्को ६ महिना थपिए पनि २०८४ जेठभित्र कुनै पनि हालतमा १५ औं महाधिवेशन गर्नुपर्ने हुन्छ । अर्थात्, २०८४ को चुनावअगाडि नै कांग्रेसमा नेतृत्व परिवर्तन गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

तर, नयाँ नेतृत्वका लागि दुवै टिममा सर्वमान्य र सर्वसम्मत नेता नहुँदाको परिणाम कांग्रेसमा देखिन लागेको हो । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले देउवाको अनिवार्य अवकाशले कांग्रेसका परम्परागत गुट विघटन हुने देखिएको बताउँछन् ।

‘कांग्रेसमा सभापति शेरबहादुर देउवा १५ औं महाधिवेशनबाट अनिवार्य अवकाशमा जाँदैछन् । देउवाको अवकाशपछि संस्थापन (देउवा)तिर सभापतिका आकांक्षीको संख्या धेरै छ, तर ती आकांक्षी देउवाको विरासत थाम्न सक्नेगरी बलिया छैनन् । त्यसैले पोस्ट–देउवा परिवेशमा सर्वसम्मत र देउवाको विरासत थाम्न सक्ने कोही नभएकाले १५ औं महाधिवेशनसम्म पुग्दा संस्थापन पक्ष विभाजित हुने देखिन्छ,’ वाग्लेले लोकान्तरसँग भने, ‘त्यसैगरी शेखर–गगन समूहबाट पनि दुवै जना (शेखर कोइराला र गगन थापा) सभापतिको आकांक्षी देखिएका छन् । दुवैले नेतृत्वका लागि प्रतिस्पर्धा गरेको अवस्थामा यो समूह पनि विभाजित हुने देखिन्छ ।’

देउवाको टिममा उपसभापति पूर्णबहादुर खड्का छन् । तर, उनी पनि देउवापछिको निर्विवाद नेताका रूपमा स्थापित छैनन् । सतहमा नआए पनि संस्थापनमा पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत–आरजु राणा, बालकृष्ण खाँण र एनपी साउदको छुट्छुट्टै उपगुट छन् । देउवा अगाडि नबढ्ने स्थितिमा यी उपगुटहरू एकले अर्कालाई समर्थन नगर्ने नेताहरू बताउँछन् । यीबाहेक विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पनि गत महाधिवेशनदेखि देउवानिकट रहँदै आएका छन् ।

देउवाले आफ्नो कोर टिम र यी नेतामध्येबाट पार्टी विरासत थाम्ने र जित्ने व्यक्ति नदेखेको कांग्रेसकै नेताहरूको दाबी छ । यस्तोमा पूर्व संस्थापनका डा. शशांक कोइराला वा डा. शेखर कोइरालामध्ये एकलाई देउवाले नेतृत्व सुम्पन्छन् भन्ने चर्चा चल्न थालेको छ । आरजुलाई स्थापित गराउने सर्तमा देउवाले कोइरालाहरूको विरासत कोइरालाहरू नै थमाउने सम्भावना बढी रहेको निकटस्थहरू बताउँछन् । त्यस्तो अवस्थामा देउवा समूह छिन्नभिन्न हुने र पूर्णबहादुरले नै देउवाको साथ छाड्न सक्ने चर्चा छ ।

साथै, अर्को समूहबाट पनि सबै नेता देउवाले चाहेको व्यक्तिका पछाडि लाग्ने देखिन्न । परम्परागत कोइराला समूहबाट १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला अलग्गिएका थिए । १४ औंमा प्रकाशमान सिंह र तीन कोइराला (शशांक, शेखर र सुजाता) एक ठाउँमा उभिन सकेनन् । हालका राष्ट्रपति (तत्कालीन कांग्रेस वरिष्ठ नेता) रामचन्द्र पौडेल पनि निष्क्रिय बन्न पुगे ।

अहिले शेखर र गगनबीच कसले नेतृत्व हत्याउने भन्ने होडबाजी शुरू भएको छ । अहिलेसम्म टिमका रूपमा प्राविधिक हिसाबले शेखर–गगन भनिए पनि उनीहरू निकै टाढिएको बताइन्छ ।

null

‘यो परिदृश्यमा देउवा तथा शेखर–गगन दुवै समूह विभाजन वा विघटन भई नयाँ ध्रुवीकरण र समीकरण हुने सम्भावना प्रबल देखिन्छ,’ वाग्ले भन्छन्, ‘मेरो विचारमा १५ औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा यस्तो ध्रुवीकरणले मूर्तरूप लिने सम्भावना बढी छ ।’

शेखर अहिलेदेखि नै देउवालाई रिझाउने रणनीतिमा लागेको नेताहरू बताउँछन् ।

‘शेखर दाइ अहिलेसम्म प्राविधिक हिसाबले गगन थापाहरूसहितको टिममा हो । तर, उहाँले पछिल्लो समय संस्थापनविरुद्ध केही असन्तुष्टि व्यक्त नगर्नुको सन्देश ठूलो छ,’ कांग्रेस स्रोतले भन्यो, ‘सबै विकल्प हेरौं भन्नेतिर उहाँ पुग्नुभएको छ । देउवाले पनि कोइरालाबाट नेतृत्व लिएँ, आफ्ना मान्छे स्थापित गर्ने गरी फेरि कोइरालालाई नै नेतृत्व बुझाउँछु भन्ने मानसिकता बनाए शेखर त्यस्तो पात्र हुन सक्छन् ।’

शेखर देउवातिर लागे पनि नलागे पनि कांग्रेसमा अब नयाँ र युवा विचारसमूहको रूपमा महामन्त्री गगन थापाको नेतृत्वमा नयाँ ध्रुवीकरण हुने स्रोत बताउँछ । यस्तो अवस्थामा गुटहरू छ्यासमिस हुने कांग्रेसकै नेताहरूको तर्क छ । पुराना गुट भत्किएर नयाँ गुट बन्ने सम्भावना प्रबल छ ।

किन भत्किँदैछन् गुट ?

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल पुरानो प्रवृत्ति, मनस्थिति र काम गराइबाट नागरिकको मन जित्न नसकिने बताउँछन् । त्यसैले परम्परागत पार्टी प्रणालीभन्दा माथि उठ्न ढिला भइसकेको उनको विश्लेषण छ ।

‘राजनीतिक लाभ र अवसर लिएर स्वार्थ पूरा गर्ने, सुधार नगर्ने, यथास्थितिमा चल्ने, विचार कार्यक्रममा स्पष्ट नहुने प्रवृत्तिलाई परास्त नगरेसम्म कांग्रेस बन्दैन,’ पौडेलले लोकान्तरसँग भने, ‘यो प्रवृत्तिलाई सुधार्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउने, राष्ट्रिय मुद्दामा स्पष्ट हुने, भ्रष्टाचार र बेथितिविरुद्ध लागेर नागरिकमा सुशासनको मुद्दा स्थापित गर्ने नेताको आवश्यकता छ ।’

यस्तो आवश्यकताको जसले अपिल गर्न सक्छ उही अब कांग्रेसमा स्थापित हुने पौडेल बताउँछन् । ‘जसले कांग्रेसका आम मान्छेलाई अपिल गर्दै सुधारिएको कांग्रेस बनाउने गरी नेतृत्व गर्छ, अब उही स्थापित हुने हो,’ पौडेलले भने, ‘परम्परागत गुट र प्रभावका नाममा शक्ति हत्याउने दिन गए । पुरानाबाट अब सम्भव छैन, नयाँ अगाडि बढ्नुपर्छ ।’ 

तीन/चार वर्षयता कांग्रेसमा गुट विघटनको बहस गर्दै आएका विश्लेषक वाग्ले पनि कांग्रेसको स्वास्थ्यका लागि परम्परागत गुट विघटन हुनुको विकल्प नभएको बताउँछन् । 

‘कांग्रेसको भविष्यका लागि पनि परम्परागत गुट विघटन भएर सैद्धान्तिक–वैचारिक आधारमा नयाँ ध्रुवीकरण तथा समीकरण बन्न आवश्यक देखिन्छ । यो कांग्रेसका लागि नै लाभदायक हुन्छ,’ उनले भने, ‘कांग्रेसमा लामो समयदेखि गुटगत कट्टरता र निष्ठा रहँदै आएको छ । त्यही कारणले पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास हुनै पाएन । नेतृत्व चयन विचार, क्षमता, योग्यता र छविको आधारमा भएन, सधैं गुटगत आधारमा हुँदै आयो ।’ 

गुट गिरोहतन्त्रमा गएकाले वैचारिक–सैद्धान्तिक ध्रुवीकरण आवश्यक भएको उनको तर्क छ ।

‘टिकट वितरण, राजनीतिक नियुक्ति सबै गुटको आधारमा भयो । मेरिटोक्रेसीका आधारमा कहिल्यै भएन । यतिमात्रै होइन, आन्तरिक लोकतन्त्र भएन । जसले पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास हुने, नेतृत्वको विकास हुने अवस्था बनेन,’ उनले भने, ‘जनता र कार्यकर्ताले खोजेको नेतृत्व विकसित हुन सकेन । पार्टी गुट हुँदै गिरोहतन्त्रमा पुग्यो । विचार समूह हुनुपर्नेमा स्वार्थ समूह र गिरोहतन्त्र हावी भयो । त्यसैले गुट र गिरोहतन्त्र होइन, सैद्धान्तिक–वैचारिक आधारमा नयाँ ध्रुवीकरण भई विचार समूह हुनु आवश्यक छ ।’

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल बलियो पार्टी बनाएर २०८४ को चुनावबाट कसरी पार्टीको गुमेको आधार फर्काउने भन्नेमा नेताहरूको ध्यान केन्द्रित नभएको बताउँछन् । पार्टीमा गुट–उपगुटको ध्यान २०८४ अघि प्रतिनिधिसभा र प्रदेशसभाको संख्याको खेलमा मात्रै भएको उनले बताए ।

‘२०८४ को चुनावमा के विचार लिएर जाने ? एक्लै लड्ने कुरा के हो ? कांग्रेसले आफ्नो हृदय र आत्मालाई फेला पार्नुपर्छ । अन्यथा आमजनताको मतबाट पार्टी बन्न सक्दैन । के आधारमा जनताको घरमा पुग्ने हो, त्यतातिर ध्यान दिनुपर्छ,’ रिजालले लोकान्तरसँग भने, ‘पार्टीमा गुट–उपगुट भत्किन्छन् भन्ने कुरा मुख्य होइन । अब आउने निर्वाचनमा जनताको मतबाट कांग्रेस निर्माण गर्नुपर्ने हो । तर, महाधिवेशन आउन १७/१८ महिना बाँकी हुँदा पनि क्यालेन्डर ल्याउने, क्रियाशील सदस्यताको टुंगो लगाउनेतिर गुट–उपगुटको ध्यान छैन ।’

null

डा. शेखर कोइरालानिकट भएर काम गरिरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि कांग्रेस गुट विघटनको संघारमा पुगेको बताउँछन् ।

‘कांग्रेसका बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला पार्टी निर्माणमा लाग्नुभयो । तर, सबैभन्दा पहिले गुट निर्माण सुशील कोइरालाले गर्नुभयो । यसैबाट प्रेरणा लिएर देउवाले पनि गुट निर्माण गर्नुभयो । उहाँले नै सशक्तरूपमा गुट निर्माण गर्नुभएको हो,’ आचार्यले लोकान्तरसँग भने, ‘सुशील बित्नुभयो । देउवाजी पनि राजनीतिक जीवनको उत्तरार्द्धमा हुनुहुन्छ । अब भने कांग्रेस करिब–करिब गुट विघटनको संघारमा छ । गुट अन्त्यको अधिवेशन बनाउन सके कांग्रेसको भविष्य छ ।’

गुटको निरन्तरता वा गुटरहित कांग्रेस बनाउने जिम्मा देउवाकै काँधमा रहेको उनी बताउँछन् । 

‘फेरि पनि गुटलाई निरन्तरता दिने कि गुटरहित कांग्रेस निर्माण गर्ने देउवाको हातमा छ । देउवाजीले चाहँदा कांग्रेसलाई गुटबाट माथि उठाएर इतिहास बनाउने अवसर आएको छ,’ आचार्य भन्छन्, ‘उहाँ निर्मोही बन्नुभयो भने कांग्रेसमा गुट विघटन सम्भव छ ।’

देउवाले पार्टीमा कसैलाई स्थापित गर्छु भनेर लागे फेरि गुट सिर्जना हुने विश्लेषण उनले गरे ।

‘देउवाले चाहँदा इतिहास बन्छ । तर, कुनै यो वा त्यो व्यक्ति विशेषलाई संरक्षण गर्ने गरी लाग्नुभयो भने गुट भत्किए पनि फेरि गुट नै बन्छ । त्यसैले देउवा अहिले ठूलो सन्देश दिने ठाउँमा हुनुहुन्छ,’ आचार्यले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्