
मुस्ताङमा बन्ने लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि छात्रावास भवनको शिलान्यास गरिएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङले शुक्रबार उक्त छात्रावास भवनको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
'नेपाल–भारत विकास सहकार्य'अन्तर्गत भारत सरकारको ४.१४ करोड आर्थिक सहयोगमा छात्रावास भवन बन्न लागेको हो ।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवन निर्माण गरिने भारतीय दूतावासले जनाएको छ ।
नेपाल र भारत सरकारबीचको सम्झौता अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।
भारतीय दूतावासका अनुसार यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरूले नेपाली जनताको उत्थानमा भारत सरकारले पुऱ्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवासका लागि नयाँ भवन उपयोगी बन्ने दूतावासको विश्वास छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जसमा ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
यी मध्ये मुस्ताङका १७ वटा परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ वटा परियोजना रहेका दूतावासले जनाएको छ ।
यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
त्यसमध्ये मुस्ताङ जिल्लालाई प्रदान गरिएको ११ वटा एम्बुलेन्स र ५ वटा स्कूल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।